काठमाडौं । नेपाल राष्ट्र बैंक वाणिज्य बैंकको अडिटमा निस्किएको छ । असार १ गतेबाट केन्द्रीय बैंकको सुपरीवेक्षण विभागको टोली विभिन्न बैंकहरूमा अडिटका लागि पुगेको हो ।
बैंकले वर्षभरि प्रवाह गरेको कर्जा र सुशासन मुख्य प्राथमिकतामा परेको केन्द्रीय बैंक स्रोतले बताएको छ । २७ वटा वाणिज्य बैंकले वर्षभरि कस्ता फर्म वा व्यक्तिलाई कर्जा कसरी दिएका छन् भन्ने सुपरीवेक्षणको प्राथमिकतामा पर्ने छन् ।
खासगरी, बैंकहरूले व्यक्तिगत ओभर ड्राफ्टअन्तर्गत अत्यधिक कर्जा प्रवाह गरेको र सोही कर्जा कुन ठाउँमा कसरी प्रयोग भएको भनेर बारम्बार केन्द्रीय बैंकले बैंकसँग सोधिरहेको छ । अटिडको टिमले उक्त कर्जामाथि विशेष निगरानी गर्ने भएको छ ।
अहिले सुपरीवेक्षणको टिमले शंका लागेका ऋणका फाइलमाथि अध्ययन गर्ने छ । सुपरीवेक्षणले खासगरी दुइटा कुरामा बढी जोड दिने छ । एक बैंकले प्रवाह गरेको कर्जा र त्यसको उपयोग । दोस्रो बैंकको सुशासन रहेको छ ।
कुन प्रकृत्तिको कर्जा कसरी गएको छ भन्ने कुरा सुशासनसँग जोडिने सुपरीवेक्षण विभागका एक अधिकारीले बताए । केन्द्रीय बैंकले बैंकहरूले प्रवाह गरेको कर्जाको रिकोभरी, कमसल धितोमा कर्जा प्रवाह गर्दा आउने जोखिमलगायतले बैंकको खराब कर्जाको दर पनि बढेको छ । तर, बैंकहरूले अनेकन उपाय लगाएर सीमाभित्रै खराब कर्जा राखेको पाइएपछि केन्द्रीय बैंकले त्यसलाई पनि हेर्ने भएको छ ।
बैंकहरूले अन्धाधुन्ध कर्जा प्रवाह गर्दा अहिले बजारमा लगानी योग्य रकम (तरलता) को चरम अभाव भइरहेको छ । केन्द्रीय बैंकले केही दिन अघि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई बोलाएर ओभर एम्बिसिएसन बन्दा अवस्था यहाँसम्म आएको र आउने वर्ष कार्यक्रम बनाउँदा संयमित बन्नसमेत निर्देशन दिएको छ ।
बैंक सुपरीवेक्षण विभागको टिमले एक महिनाभित्र अडिट सक्ने गरी काम थालेको छ । सुशासन बिग्रिएका बैंकमा डेढ महिनासम्म पनि लाग्न सक्ने टोलीको निश्कर्ष छ ।
अहिले बैंकका सुशासन बिग्रिएको केन्द्रीय बैंकको निश्कर्ष छ । धेरैजसो बैंकले केन्द्रीय बैंकको परिपालन (कम्प्लाइन्स) पूरा नगरेको भेटिएको छ । त्यसका अलवा अहिले बैंकलाई मन फुकाएर प्रोभिजनसमेत गर्न लगाएको छ ।