काठमाण्डौं । मृगौला पिडितहरुका लागि सरकारले दिने निःशुल्क हेमोडायलासिस सेवालाई सहजीकरण गर्दै ओम साई पाथीभरा हस्पिटलले चेनको रुपमा विस्तार गरिरहेको छ ।
झापाको भद्रपुरमा रहेको सो हस्पिटलले देशका विभिन्न भागमा अत्याधुनिक मेसिन राखेर हेमोडायलासिस सेन्टर सञ्चालन गरिरहेको अध्यक्ष दीपकराज पोखरेलले जानकारी दिए ।
सरकारी अस्पतालमा डायलासिस गर्नका लागि १५ देखि २० दिनसम्म पालो कुर्नुपर्ने बाध्यतालाई हटाउन निःशुल्क रुपमा हेमोडायलासिस सेन्टरको स्थापना गरिरहेको उनको भनाइ छ ।
सरकारले हाल एक जना बिरामीको डायलासिस गरेबापत २ हजार ५ सय रुपैयाँ दिने गरेको छ । मृगौला पीडित बिरामीले साताको २ दिन डायलासिस गर्नुपर्छ ।
दमक, इटहरी, लाहान, बर्दिवासमा डायलासिस सेन्टर स्थापनाका लागि तयारी गरिरहेको बताए । बर्दिवास र लाहानका लागि सरकारबाट अनुमति लिइसकेको र अन्यको पनि प्रक्रियामा रहेको उनले जानकारी दिए ।
सरकारले स्वास्थ्य बिमा गरेकाहरुलाई २५ सय रुपैयाँ नगद दिँदै आइरहेकाले स्वास्थ्य बिमासँग पनि सहकार्य गर्न लागिरहेको उनको भनाइ छ ।
यससँगै भैरहवामा पनि डायलासिसका लागि १० वटा अत्याधुनिक मेसिनहरु राखिसकेको र काठमाडौंको नेपाल–भारतमैत्री अस्पतालमा पनि १० वटा मेसिन राखेर सेवा सुरु गर्न लागेको उनको भनाइ छ । यसका लागि कुमारी बैंकबाट १८ करोड रुपैयाँ लिएर १०० वटा मेसिन ल्याउन लागिरहेको बताए ।
‘यो काम पैसाका लागि होइन’, उनले भने, ‘डायलासिस गर्न नपाएका सर्वसाधारणहरुलाई सहज रुपमा सेवा दिने उद्देश्य राखेर काम सुरु गरेको हुँ ।’
झापाको भद्रपुरमा रहेको सो अस्पतालमा पनि १० वटाभन्दा बढी मेसिनहरु राखेर डायलासिस सेवा सुरु गरिसकेका छन् । ५० बेडबाट सुरु भएको अस्पताल अहिले २०० बेडको पुगिसकेको छ ।
करिब १३ वर्षअघि सञ्चालनमा आएको सो अस्पतालमा १ अर्ब २० करोडभन्दा बढी लगानी भइसकेको छ । डायलासिस सेन्टरको पूर्वाधार निर्माणसमेत गर्दा हालसम्म ४० करोड भन्दा बढी लगानी भइसकेको उनको भनाइ छ ।
सो अस्पतालमा पूर्वाञ्चलकै सबैभन्दा ठूलो डायलासिस सेन्टर सञ्चालन छ ।
आगामी दिनमा डायलासिस सेन्टरलाई शाखाका रुपमा देशका विभिन्न क्षेत्रमा फैलाउँदै जाने योजना छ’, पोखरेलले भने, ‘सेवा दिएबापत २७ सयदेखि ३ हजारसम्म लाग्छ । तर, सरकारले २५ सय मात्र दिने गरेको छ । बिरामीहरुलाई अन्य अतिरिक्त चार्ज नलिई सेवा दिँदै आइरहेका छौं ।’
बिमामा आबद्ध भएपछि भने जहाँ डायलासिसको सेवा पुगेको छैन त्यहाँ सेन्टर खोल्ने उनले सुनाए ।
‘मेरो अस्पतालले पैसा कमाउनेभन्दा पनि सबैलाई सहज रुपमा सेवा दिने उद्देश्य हो’, अध्यक्ष पोखरेलले भने ।
पोखरेल सौर्य एयरलाइन्सका सञ्चालकसमेत हुन् ।