काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यापिटल चार्ज छल्न व्यक्तिगततर्फको ओभर ड्राफ्ट (ओडी) लोन धमाधम टर्ममा कन्भर्ट हुन थालेको
छ । राष्ट्र बैंकले केही महिनाअघि व्यक्तिगततर्फको ओभर ड्राफ्ट लोनमा १५० प्रतिशतसम्म क्यापिटल चार्ज थपेको थियो ।
त्यसपछि व्यक्तिगत ओडीलाई टर्म लोन (ईएमआई)मा कन्भर्ट भइरहेका छन् । टर्म लोनको क्यापिटल चार्ज कम छ । केन्द्रीय बैंकका अनुसार टर्म लोनको क्यापिटल चार्ज ७५ प्रतिशत मात्रै छ ।
ओडीको भन्दा आधा क्यापिटल चार्ज टर्म लोनमा भएका कारण व्यक्तिगत ओडी चलाउनेहरुले बैंकमा गएर टर्ममा परिणत गर्न लागेका हुन् । ‘बढी चार्ज हुने बित्तिकै बैंकले त्यस्तो कर्जामा बढी ब्याज लिन्छ,’ एक बैंकरले भने, ‘कम चार्ज व्यवस्था भएका शीर्षकमा लोन परिणत गर्न ब्याजदर बढ्दैन ।’
केन्द्रीय बैंकले टर्म लोनको क्यापिटल चार्ज यथावत् राख्दै व्यक्तिगततर्फको १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको हो । व्यक्तिगततर्फ ५० लाख रुपैयाँसम्म ऋण पाइन्छ । त्यही लोनलाई मासिक किस्ता (ईएमआई) को रुपमा परिणत गरिरहेका छन् ।
बैंकहरुले ओडीमा बढी ब्याज लिने संकेत गरेपछि ऋणीले बैंकमा गएर अन्यत्र शीर्षकमा ऋण बनाइरहेका छन् । ओडी नचलाई राखेकाहरुको फ्रिज गरिदिएको छ भने चलाएकाहरुको कर्जालाई टर्ममा कन्भर्ट गरिरहेको छ ।
केन्द्रीय बैंकलाई थाहै नदिई अहिले बैंकहरुले धमाधम टर्ममा कन्भर्ट गरिरहेका छन् । ओभरड्राफ्टमा गएको ९० प्रतिशत कर्जा घरजग्गा र सेयर बजारमा लगानी हुने गरेको छ, ओभरड्राफ्ट कर्जा बढ्दा घरजग्गा र सेयर बजारमा त्यसको प्रभाव देखिन्छ ।
चालू आर्थिक वर्षको १० महिनामा व्यक्तिगततर्फको ओडी १३ अर्ब ६९ करोड रुपैयाँ बढेर १ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।