काठमाडौं । होटल एसोसिएन अफ नेपाल (हान) ले काठमाडौं महानगरपालिकासँग सम्पत्ति करमा छुट माग गरेको छ ।
हानका महासचिव साजन शाक्यले विगतका वर्षहरुमा र्झैं यस वर्ष पनि होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा ९० प्रतिशत छुटका साथै नेपाल सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यवसाय कर छुटको व्यवस्था भएअनुसार काठमाडौं महानगरपालिकाबाट लगाइने व्यवसाय करमा शतप्रतिशत छुट उपलब्ध गराइदिनका लागि अनुरोध गरेका हुन् ।
घरजग्गा कर ऐन २०१९ को दफा १२ बमोजिम होटलमा ग्राहक बस्ने, खाने गाँस घरजग्गा, सवारी साधानको पार्किड. स्थान र बागबगैंचामा घरजग्गा कर नलाग्ने व्यवस्था रहेकामा एकीकृत सम्पत्ति कर २०७४ मा होटलहरुले ओगटेको सबै संरचनामा सम्पत्ति कर लगाई करिब १५ सय प्रतिशतभन्दा बढी करको भार लगाएको भन्दै छुट माग गरिएको शाक्यले बताए ।
हानले पटकपटक काठमाडौं महानगरपालिकालाई अनुरोध गरी आर्थिक वर्ष २०७५/०७६ मा ६५ प्रतिशत, आव २०७६/०७७ मा ७५ प्रतिशत, २०७७/०७८ मा ७५ प्रतिशत र २०७८/०७९ का लागि ८० प्रतिशत छुट उपलब्ध गराएको र उक्त छुटमध्ये समयसीमाभित्र कर बुझाएमा अर्को १० प्रतिशत अतिरिक्त छुट उपलब्ध गराएको जानकारी मेयर बालेन्द्र साहलाई गराएका थिए ।
२०७५/०७६ मा उपलब्ध ६५ प्रतिशत छुट रकम काठमाडौं महानगरपालिका र होटल संघ नेपालको सहकार्यमा आयोजना हुने गरी पर्यटन प्रवर्द्धनका लागि संयुक्त कोष स्थापना भएको जानकारीसमेत उनले गराएका थिए । उक्त संयुक्त कोषबाट काठमाडौं महानगरपालिकालाई पर्यटनको केन्द्र बनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मुलुकको साख उच्च राख्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु तय गरिएको जानकारी दिए ।
सो कोषबाट संघले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि पनि कार्यक्रमहरु अगाडि बढाइरहेको जानकारी गराउँदै होटल संघ र काठमाडौंं महानगरपालिकासँग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने विज्ञहरुको प्रक्षेपण रहेको बताउदै राज्यको आर्थिक गतिविधि चलायमान बनाउने, बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पुर्याउने होटल उद्योगलाई बचाइराख्न राज्यको पनि दायित्व हुने शाक्यको भनाइ छ ।