एजेन्सी । एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले फिलिपिन्समा रेलवे लाइन निर्माणका लागि ४ अर्ब ३० कराेड अमेरिकी डलर आर्थिक सहायता स्वीकृत गरेको छ ।
एडीबीले मनिला–कलाम्बा जोड्ने आधुनिक उपनगरीय रोलवे लाइनको ५५ किलोमिटर निर्माणका लागि उक्त रकम स्वीकृत गरेको हो ।
उत्तर–दक्षिण कम्युटर रेलवे (एनएससीआर) को हिस्सा रहेको दक्षिण कम्युटर रेलवे परियोजनाका लागि एडीबीको यो सहायता एसिया प्यासिफिक क्षेत्रमा अहिलेसम्मकै ठूलो पूर्वाधार लगानी भएको बताइएको छ ।
निर्माण सम्पन्नपश्चात् दक्षिण कम्युटर रेलवेले सर्वसाधारणलाई द्रुत सार्वजनिक यात्रा उपलब्ध गराउनेछ । यसले ट्राफिक कम गर्नाका साथै ग्रिनहाउस ग्यास उत्सर्जनमा पनि सहयोग पुर्याउने एडीबीको भनाइ छ ।
‘साउथ कम्युटर रेलवे परियोजनाले यात्रुहरुलाई सुरक्षित, सस्तो र तीव्र सार्वजनिक सुविधा दिनेछ’, एडीबीका उपाध्यक्ष अहमदल सइदले भने, ‘यो ठूलो परियोजनाले फिलिपिन्सको गरिबी घटाउँदै जनजीवन सुधार गर्ने हाम्रो प्रतिबद्धताको प्रतिनिधित्व गर्छ । साथै हरित, लचकता र उच्च आर्थिक विकास प्राप्त गर्ने आफ्नो लक्ष्य प्राप्त गर्नेछ ।’
एडीबीको यस परियोजनामा वृद्धवृद्धा, महिला तथा बालबालिकासहित सबैका लागि सुरक्षित यात्रा प्रदान गर्नका लागि १८ स्टेसन निर्माण हुनेछन् । सबै पूर्वाधारहरु प्रकोप प्रतिरोधी, सामुद्रिक आँधी टाइफुन र भूकम्प आदिको सक्षम हुने गरी डिजाइन गरिनेछ ।
परियोजनाले मनिला र कलम्बाबीचको हालको यात्रा समय २.५ घण्टालाई आधाभन्दा बढीले घटाउनेले एडीबीले जनाएको छ ।