ललितपुर । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाखसम्म संरक्षित पुँजी फिर्ता कोषबापतको रकम प्राप्त गरेका छन् ।
बुधबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरेसँगै एउटै प्रतिसदस्य करिब ५७ लाख रकम प्राप्त गरेका छन् ।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरूप बैंकले सदस्य संघ÷संस्थाले जम्मा गरेको बचत रकमका लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लाख ७४ हजार २ सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको छ ।
कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघसंस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।
बचत र कर्जा कारोबार गर्ने १३ हजार ७१२ सहकारी संघसंस्थाहरु संरक्षित यसबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ५६ लाख ५२ हजार तथा कर्जातर्फ १३ लाख ७८ हजारसम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईंको भनाइ छ ।
‘उत्कृष्ट वित्तीय सेवासहितको सहकारी बैंक’ भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट ५० हजारभन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघसंस्थाहरु ६९९ रहेका छन् ।
हाल बैंकमा करिब १५ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।
बैंकले सदस्य सहकारी संघसंस्थाहरुलाई आर्थिक वर्ष २०७७/०७८ का लागि बैंकको १८ औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांशबापतको रकम साधारणसभा सम्पन्न गरेको दिन गत पुस ३० गते वितरण गरेको थियो ।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्थापछि सहकारीहरुको केन्द्रीय निकायमध्ये निरन्तर संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुलाई रकम बाँडफाँट गर्ने बैंक पहिलो हो ।
सहकारीका अन्य केन्द्रीय निकायहरुले सेयरको आधारमा वितरण गरे पनि बैंकले बचत र कर्जा कारोबारको आधारमा वितरण गर्दै आएको छ ।