काठमाडौं । विगतमा चिनियाँ सामानबारे एउटा चर्चित भनाइ/उखान खुुब प्रयोग हुन्थ्यो, ‘चले तो चाँद तक, नहीँ तो शाम तक’ । यसले चिनियाँ समानको विशेषता दर्साउँछ अर्थात् चिनियाँ सामान धेरै समय चल्दैन । जति चल्छ चलाउने, चलेन भने त्यसमा धेरै माथापच्ची नगर्ने फ्याँकिदिने र नयाँ खोजी गर्ने ।
समयसँगै यो कथनमा परिवर्तन आइसकेको छ । विस्तारै चिनियाँ सामान पनि बलियो र टिकाउपूर्ण हुन थालेका छन् । हेर्दा राम्रो मात्र होइन मूल्य र ब्रान्डका हिसाबले चिनियाँ उत्पादनले बजार लिन थालेको छ । अर्थात् चिनियाँ सामानप्रतिको जनसाधारणको बुझाइमा परिवर्तन आउन थालेको छ । यसो हुनुमा चिनियाँ उत्पादनको विश्वसनीयता नै हो । चिनियाँ समानको विश्वसनीयता बढ्दै गएकै कारण विश्वभर चिनियाँ सामानको ‘ब्रान्ड’ चल्न थालेको छ । नेपालमा पनि चिनियाँ सामानको मोह बढ्दै गएपछि व्यावसायिक घरानाहरू चिनियाँ ब्रान्डको आधिकारिक डिलरसीप हत्याउन दौडधूप गरिरहेका छन् ।
चिनियाँ ब्रान्डप्रतिको लगावले विस्तारै भारतीय ब्रान्डको दबदबा नेपाली बजारबाट घट्दै गइरहेको छ र चिनियाँ सामानको प्रवेश (पेनिट्रेसन) इन्टरनेट गतिमा बढिरहेको छ । त्यसको मूल कारण हो, चिनियाँ तुलनात्मक रूपमा सस्तो हुनुु र गुणस्तरीयता पनि कायम हुनु ।
केही वर्षअघिसम्म चिनियाँ सामानमा सस्तोमा पाइन्छ भन्ने थियो र कोही पनि महँगो मूल्य तिर्न तयार हुँदैन थिए । तर, पछिल्लो समय परिस्थिति फेरिएको छ, लाखौं रुपैयाँ हालेर मोबाइल किन्छ, घरायसी सामान किन्छ र सवारीसाधनमा पनि लाखौं रुपैयाँ खर्चन्छ ।
तथापि अझैसम्म चिनियाँ सामानप्रति जनसाधारण/ग्राहक विश्वस्त हुन सकेको देखिँदैन र भनिहाल्छन्, ए चिनियाँ सामान रहेछ । तर, नेपाली व्यवसायीले आफ्नो र नेपालको भविष्य चिनियाँ ब्रान्डमै देख्न थालेका छन् । त्यही भएर चिनियाँ ब्रान्ड हात पार्न लगानी बढाइरहेका छन् । चिनियाँ ब्रान्डमा नेपाली व्यवसायीले जुन लगानी गरेका छन्, त्यो सबै भविष्यको लगानी (फ्युचर इन्भेस्टमेन्ट) हो । व्यवसायीले दीर्घकालमा चिनियाँ ब्रान्डकै रजगज चल्ने देखेर लगानी बढाइरहेका छन् ।
पछिल्लो समयमा आफ्नो ख्याति (ब्रान्ड) नबिग्रियोस् भनेर चीनले पनि ठूलो धनराशि खर्च गरिरहेको छ । चीनका हरेक सामान हेर्दा आकर्षक र बलियो मात्र होइन तुलनात्मक रूपमा सस्तो पनि हुँदै गएकाले विस्तारै ग्राहकको विश्वास जोड्दै गइरहेको अध्यक्ष श्रेष्ठको अनुभव छ ।
पछिल्लो समय संसारभर विद्युतीय गाडीमा चिनियाँ ब्रान्डकै दबदबा छ । विद्युतीय गाडीमा क्रान्ति चीनले नै ल्याएको हो । नेपालमा पनि चिनियाँ ब्रान्डकै विद्युतीय गाडीको रजगज छ ।
हिमालय सीमापार व्यापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार विगत र वर्तमान हेर्दा चिनियाँहरू आफैं पनि ब्रान्डप्रति गम्भीर/सचेत देखिन थालेका छन् । ‘चिनियाँहरूको मनमा पनि आफ्नो ब्रान्ड बिक्ने मात्र होइन त्यसले दीर्घकालीन प्रभाव कायम राख्नुुपर्छ भन्ने छ’, श्रेष्ठले भने, ‘त्यही कारण चिनियाँ सामग्रीको दबदबा दिन दुई गुणा र रात चौगुणा बढिरहेको छ ।’
पछिल्लो समयमा आफ्नो ख्याति (ब्रान्ड) नबिग्रियोस् भनेर चीनले पनि ठूलो धनराशि खर्च गरिरहेको छ । चीनका हरेक सामान हेर्दा आकर्षक र बलियो मात्र होइन तुलनात्मक रूपमा सस्तो पनि हुँदै गएकाले विस्तारै ग्राहकको विश्वास जोड्दै गइरहेको अध्यक्ष श्रेष्ठको अनुभव छ ।
चिनियाँहरूको बजार अनुसन्धान निकै चुस्त देखिन्छ । कस्ता सामान बजारमा माग छ भन्ने ख्याल गर्न थालेका छन् । विश्वमा ख्याति कमाएका चीनका ब्रान्डेड कम्पनीले सस्तो सामान आफ्नो ब्रान्डमा बिक्री गर्न छाडेका छन् । विश्व बजारमा स्थापित ब्रान्डसँग लड्न गर्न आफूलाई पनि परिवर्तन गर्दै लगिरहेको छ ।
नेपालमै पनि चिनियाँ ब्रान्डका नामै नसुनेका गाडीहरू बजारमा छन् । खेलौना लाग्ने तर, बाहिरबाट हेर्दा डब्बाजस्ता देखिने गाडीको उपस्थिति पनि नेपाली बजारमा छ । यसले नेपालीहरूले चिनियाँ ब्रान्डप्रति विश्वास गर्न नसकेको व्यापारीहरू स्वीकार गर्छन् ।
नेपाली व्यापारीले कुन गुणस्तरको सामान खोजिरहेका छन्, त्यही आधारमा चिनियाँले सामग्री तयार गरेर पठाइरहेको छ । जसले गर्दा नेपालमा चिनियाँ ब्रान्डबारे नकारात्मक टीकाटिप्पणी हुने गरेको व्यवसायीको तर्क छ ।
पछिल्लो समय संसारभर विद्युतीय गाडीमा चिनियाँ ब्रान्डकै दबदबा छ । विद्युतीय गाडीमा क्रान्ति चीनले नै ल्याएको हो । नेपालमा पनि चिनियाँ ब्रान्डकै विद्युतीय गाडीको रजगज छ । सफ्टवेयर प्रविधिमा पनि चिनियाँहरू धेरै अघि छन् । टिकटक नै सबैभन्दा पछिल्लोपटक आएको लोकप्रिय सामाजिक सञ्जाल हो । प्रविधिमा चिनियाँहरूसँग अरूले प्रतिस्पर्धा गर्ने सामर्थ्य नै नराख्ने स्थिति पैदा भएको छ ।
३० वर्ष अघिसम्म कोरियन सामानप्रति नेपालीको धारणा उतिसारो राम्रो थिएन । हुन्डाई नेपालमा आउँदा यसले तेल बढी खपत गर्छ, पार्ट्स पाइँदैन भन्ने थियो । तर, आज हुन्डाई नेपालमा सबैभन्दा बढी बिक्री हुने ब्रान्डमा पर्छ । अहिले चिनियाँ सामानप्रति पनि ठीक ३० वर्षअघि हुन्डाईको धारणाजस्तै छ । कोरियनहरूको व्यावसायिक रणनीति अब्बल हुनुमा कोरियनहरूको कुनै पनि सामान उत्पादनमा अत्यधिक अनुसन्धान भई आवश्यकता र त्यसको प्रयोगको औचित्य पुष्टि भएपछि सामान तयार हुुनाले हो । कोरियन सामानले पाएका सफलताकै शैली अहिले चीनले सिको गरेको छ ।
संघका महासचिव भरत कार्कीका अनुसार विद्युतीय सवारीसाधन (ईभी) मा चीनले क्रान्ति नै गरेको छ । टेस्लालाई ईभीबाट बाहिर निकाल्ने हो भने अन्य गाडीमा चीनको एकछत्र राज छ । अमेरिकामा सूचीकृत होला । तर, चीनबाटै क्रान्ति आएको हो ।
अत्याधुनिक फिचर्ससहित चीनले विद्युतीय गाडी बजारमा ल्याएको छ । गाडीमा भ्वाइस कन्ट्रोल फिचर्स छ । त्यसलाई आफंैले फिट गर्न सकिन्छ । सिमकार्ड मात्रै होइन इन्टरनेट पनि आवश्यकता पर्दैन ।
स्क्रिनमा गएर सेट गर्न सकिने फिचर्स चीनमा उत्पादित गाडीमा छ । यस्तो प्रणाली भारतमा उत्पादन हुने ब्रान्डमा पनि छ । तर, ती गाडीमा सिमकार्ड लगाउनुपर्छ । चीनले उत्पादन गरेको गाडीमा ‘इनबिल्ड’ छ । न सिमकार्ड नत इन्टरनेट पहुँच ।
सफ्टवेयर प्रविधिमा चिनियाँहरू धेरै अघि छन् । टिकटक नै सबैभन्दा पछिल्लोपटक आएको लोकप्रिय सामाजिक सञ्जाल हो । प्रविधिमा चिनियाँहरूसँग अरूले प्रतिस्पर्धा गर्ने सामर्थ्य नै नराख्ने स्थिति पैदा भएको छ ।
कुनै समय थियो, ‘इनाेभेसन’मा अमेरिकाले मात्रै काम गर्थ्याे । अहिले चीनले इनाेभेसनमा व्यापक काम गरिरहेको छ । चिनियाँ ब्रान्डका लागि यो सबैभन्दा ठूलो ‘प्लस प्वाइन्ट’ हो ।
‘कुनै समय चिनियाँहरू अतिरिक्त १ सय डलर दिए जुनसुकै प्रणाली राखिदिन्थे । तर, अहिले त्यो स्थिति (चान्स) नै छैन’ एक आयातकर्ता व्यापारीले भने, ‘यसले के देखाउँछ भने चिनियाँहरू ब्रान्डप्रति सचेत भइरहेका छन् ।’
चीनले विद्युतीय गाडीमा विस्तारै आफ्नो प्रभुत्व बढाउँदै लगेको छ । मोबाइल फोन र विद्युतीय दुईपांग्रे सवारीसाधनका अतिरिक्त घरायसी सामग्रीहरूमा पनि चिनियाँ वर्चश्व बढ्दै गएको छ । नेपाली सडकमा जति पनि विद्युतीय सवारी गुड्छन्, एकाधबाहेक सबै चिनियाँ उत्पादन छन् । मोबाइल फोनमा पनि चीनकै हालीमुहाली छ । साओमी, हुवावे विश्वका चर्चित ब्रान्ड हुन् । हुवावे बन्द भए पनि साओमी अमेरिकाबाहेक संसारभर प्रख्यात छ ।
दसकअघिसम्म चिनियाँ ब्रान्डका ५ वटा मोबाइल फोन टप ५ मा पर्छ भनेर कसैले सोचेको थिएन । अहिले पहिलो नम्बरमा साओमी, दोस्रोमा सामसङ, तेस्रोमा रियलमी, चौथोमा भिभो र पाँचौंमा ओप्पो छन् । अझ वान प्लस, भिभो, ओपो र रियलमी एउटै कम्पनीमा चार ब्रान्ड हुन्, जो एक आपसमा कडा प्रतिस्पर्धा गर्छन् ।
अहिले साओमी, सामसङ र बिबिके कम्पनीका फोनको बजारमा रजगज छ । तीनवटा कम्पनीको ९० प्रतिशत मोबाइलको बजार हिस्सा छ । सामसङ, साओमी (साओमीभित्र तीनवटा ब्रान्ड (रेडमी, साओमी र पोको), बिबिकेको ४ वटा ब्रान्ड (वान प्लस, रियलमी, भिभो र ओप्पो) छ ।
साओमीले तीनवटा ब्रान्ड बेच्न एउटा आधिकारिक वितरक बनाएको छ । बिबिकेले वान प्लस, रियलमी, भिभो र ओप्पोका फरक–फरक आधिकारिक वितरका बनाएको छ । एउटै कम्पनीका ४ ब्रान्डबीच तीव्र प्रतिस्पर्धा छ ।
मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राका अनुसार नेपालमा चिनियाँ फोनको मात्रै बजार हिस्सा ७० प्रतिशतमाथि छ । हुवावे संसारबाट जब हरायो, दुइटा ब्रान्ड (वान प्लस र साओमी) अघि आए । त्यो बेलासम्म साओमीले सस्तो फोन बनाउँथ्यो । अहिले चिनियाँ सरकारले साओमीलाई महँगो फोन बेच्न भनेको छ ।
साओमीले भर्खरै १ लाख १४ हजार रुपैयाँ मूल्यको फोन सार्वजनिक गरेको छ । जुन देशमा जुन फोनको दबदबा छ, त्यहीअनुसार काम गर्न चीन सरकारको प्रष्ट निर्देशन छ । २०१६ मा पहिलो पटक साओमीको फोन सार्वजनिक भएपछिका पछिल्ला ४ वर्षमा साओमी नेपाली बजारमा पहिलो स्थानमा छ ।
विद्युतीय गाडीमा नेक्सन हटाउनेबित्तिकै चिनियाँ ब्रान्डको बाहुल्य छ । विद्युतीय गाडीमा पनि चिनियाँ ब्रान्डको बजारहिस्सा ७० प्रतिशत माथि छ । त्यसमध्ये पनि एमजी र बिल्ड योर ड्रिम (बीवाईडी) को बजार हिस्सा ८० देखि ९० प्रतिशत हाराहारी छ । तर, विद्युतीय बाहेक ब्रान्डमा चिनियाँ ब्रान्डले ‘पिकअप’ लिन सकेको छैन ।
७० प्रतिशत चिनियाँ सामानले बजार कब्जा गर्दा पनि चिनियाँ ब्रान्ड देखाएर ग्राहकलाई विश्वास दिलाउन गाह्रो छ । अहिले ग्राहकले व्यावसायिक घरानाको विश्वासमा मात्रै चिनियाँ उत्पादन किनिरहेका छन् । व्यावसायिक घरानाको साख (क्रेडिबिलिटी) ले व्यापार धेरथोर भइरहेको छ ।
अहिले एमएडब्ल्यूले दुइटा चिनियाँ ब्रान्ड (रमेश कर्प र विशाल ग्रुपले एउटा) लिएर आएको छ । मुरारका र विशाल ग्रुपको अर्को ब्रान्ड छँदै छ । सारडा ग्रुपसँग पनि चिनियाँ ब्रान्ड छ । निकट भविष्यमै नेपाली बजारमा प्रभावशाली ब्रान्डका रूपमा चिनियाँ ब्रान्ड अघि आउने छ । त्यही भएर ठूला व्यावसायिक घरानाबीच डिलरसिप लिने होडबाजी छ ।
चेरी (शारडा ग्रुप), ग्रेटवाल मोटर, चङगन, (एमएडब्ल्यू), फोटोन (एमएडब्ल्यू), एमजी (मुरारका विशाल ग्रुप), बीवाईडी चल्तीका ब्रान्ड हुन् । यी ब्रान्डको कुनै न कुनै विदेशी कम्पनीसँग साझेदारी छ । विश्वका राम्रा ब्रान्ड चीनमा जाँदा अनिवार्य स्थानीय साझेदार चाहिन्छ, स्थानीय साझेदार हुँदा स्थानीय उत्पादनमा पनि त्यसको असर देखिन्छ । विदेशी उत्पादनको प्रविधिलाई आफ्नो छुट्टै युनिटमा प्रयोग गरे, जसले गर्दा उनीहरूका उत्पादन विस्तारै विश्वबजारमा फैलिँदै छन् । चीनका ठूला कम्पनीहरूले राम्रो मूूल्यमा राम्रा गाडी लिएर आइरहेका छन् ।
होङ्सी सिमेन्टमा प्रयोग भएका सम्पूर्ण सामान चीनबाट ल्याइएको हो । जसले गर्दा उसको प्लान्टमा कुनै समस्या छैन । शिवम् र घोराही सिमेन्टमा जर्मन प्लान्ट छ । जर्मन प्लान्ट राख्ने उद्योग र चिनियाँ प्लान राख्ने उद्योगको प्रदर्शन समान छ ।
चीनले ग्राहकले जति पैसा तिर्न सक्छ, त्यही अनुसारको उत्पादन गर्छ । नेपालको चाउचाउ उद्योगमा चिनियाँ प्लान्ट छ । चीनले जापानिज उद्योग किनिसकेको छ । चिनियाँसँग प्रविधि नभएका कारण जापानिजसँग उद्योग किन्यो, त्यसको प्रविधि आफ्नो ब्रान्डमा प्रयोग गरेर प्याकेजिङ मेसिन बेचिरहेको छ ।
डेढ दशकअघि नेपाल आएका जीली, ग्रेटवाल, चेरी, लिफान, यूएफओ, बीएमडब्ल्यू र ज्योते जस्ता ब्रान्डले एक प्रकारको प्रभाव पारिसकेका थिए । तर, बिस्तारै सबै ब्रान्ड बजारबाट बिलय भए । नयाँ गाडी आउन रोकिए पनि डेढ दशकअघि बिक्री भएका यस्ता गाडी अहिले पनि नेपाली सडकमा राम्रै अवस्थामा गुडिरहेका छन् ।
साओमी लेई जुन को कम्पनी हो । तर, त्योसँग यतिबिघ्न पैसा छ ? यसले यत्रो ठूलो कम्पनी बनाउन सक्छ ? चेरी केन्द्रीय सरकारको कम्पनी हो । एमजी सांघाई सरकारको कम्पनी हो । जसको नाम सांघाई अटोमोबिल कर्पोरेसन हो । चेरी सबैभन्दा बढी गाडी निर्यात गर्ने कम्पनीको सूचीमा पर्छ । निर्यात गर्नका लागि खोलिएको कम्पनी हो ।
नेपाली व्यापारीका अनुसार चीन सरकार संसारको सबैभन्दा ठूलो कर्पोरेट घराना हो । चीनमा उत्पादनमूलक उद्योग विकास हुनुको पछाडि सरकारको ठूलो हात छ ।
हुवावेको अध्यक्षकी छोरीलाई जब क्यानडामा पक्राउ गर्यो, त्यसलाई छुटाउन चीन सरकारले कति ठूलो लबिङ गर्यो । तर, नेपाल सरकारले कुनै पनि व्यापारीका लागि गर्दैन ।
अटोमोबाइलमा ठूला घराना आक्रामक
अटोमोबाइल व्यवसायको विस्तारमा आक्रामक बन्दै गएका तीन ग्रुपको रोजाइमा चिनियाँ ब्रान्ड परेपछि अहिले चिनियाँ ब्रान्डको बढ्दो प्रभावका बारेमा बहस सुरु भएको छ ।
डेढ दशकअघि नेपाल आएका जीली, ग्रेटवाल, चेरी, लिफान, यूएफओ, बीएमडब्ल्यू र ज्योते जस्ता ब्रान्डले एक प्रकारको प्रभाव पारिसकेका थिए । तर, बिस्तारै सबै ब्रान्ड बजारबाट बिलय भए । नयाँ गाडी आउन रोकिए पनि डेढ दशकअघि बिक्री भएका यस्ता गाडी अहिले पनि नेपाली सडकमा राम्रै अवस्थामा गुडिरहेका छन् ।
आयातकर्ता कम्पनी बिक्रीमा मात्र केन्द्रित हुँदा सर्भिसिङ र स्पेयर पाट्र्समा समस्या देखिएपछि यी ब्रान्ड बजारबाट बिलय भएका हुन् । तर, अहिले आयात भइरहेका सवारीसाधनमा बिक्रेता कम्पनीले बिक्रीको साथसाथै बिक्री पछिको सेवामा समेत उत्तिकै जोड दिइरहेको छ । जसका कारण चिनियाँ ब्रान्डमा उपभोक्ताहरूको आकर्षण बढ्दै गएको छ ।
हाल बजारमा कारोबार भइरहेका ग्रेटवाल, एमजी, डीएफएसके, बीवाईडी, फोटोन र अन्य विद्युतीय सवारीले प्रभाव बढाइरहेका छन् । विगतमा भएका कमीकमजोरीबाट पाठ सिकेर आफूहरूले नयाँ ब्रान्डलाई प्रवर्द्धन गरिरहेको आयातकर्ताहरू बताउँछन् ।
विद्युतीय सवारीसाधनको खोज तथा अनुसन्धानमा ठूलो धनराशि खर्च गरेको चीनले हरेक दिनजसो केही न केही सुखद समाचार दिइरहेको छ र बिवाइडी आक्रामक देखिएको छ । बिवाइडीले अहिले ब्याट्रीको क्षेत्रमा नयाँ खोज तथा अनुसन्धान गरिरहेको छ ।
डीएफएसके आयातकर्ता कम्पनी कुजु नेपालका प्रबन्ध निर्देशक उमिद श्रेष्ठले तत्कालका लागि आफूहरूको जोड बिक्री बढाउनेमा भन्दा पनि ग्राहकलाई बिक्री र बिक्री पछिको सेवामा आश्वस्त पार्नमा केन्द्रित रहेको बताए । उनले भने, ‘आजको दिनमा गाडी किन्ने ग्राहकहरू ब्रान्ड र गुणस्तरका बारेमा हामीभन्दा बढी जानकार हुनुहुन्छ । यस विषयमा उहाँहरूलाई बुझाउन हामीले खासै मेहनत गर्नुपर्दैन । गाडी खरिद गरिसकेपछि भोलिका दिनमा सर्भिस र स्पेयर पार्ट्स नपाएर हैरानी खेप्नु नपरोस् भन्ने विषयमा ग्राहकहरू आश्वस्त हुन चाहिरहेका छन् । यस विषयमा ग्राहकलाई आश्वस्त पार्न सक्नु नै चिनियाँ ब्रान्डका लागि प्रमुख चुनौती बनिरहेको छ ।’
चांगन ब्रान्डको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि अटोकर्पका उपमहाप्रबन्धक (डीजीएम) प्रशन्न पन्त भन्छन्, ‘एक दशक अघिको तुलनामा अहिले चिनियाँ ब्रान्डले निकै ठूलो फड्को मारिसकेको छ । डिजाइन, प्रविधि र खोज तथा अनुसन्धानमा चिनियाँ ब्रान्डले विश्वका चर्चित र लोकप्रिय भनिएका अन्य ब्रान्डलाई समेत पछि पार्दै गएका कारण गुणस्तरमा शंका गर्नुपर्ने देखिँदैन ।’
डिजाइन र प्रविधिमा जोड
चीन विश्वको सबैभन्दा ठूलो अटो उत्पादक र बढी सवारीसाधन खपत गर्ने राष्ट्र हो । चीनमा विश्वबजारमा कहलिएका प्रायः सबैजसो युरोपियन, अमेरिकन, जापनिज र कोरियन ब्रान्डका सवारीसाधन उत्पादन हुने गरेका छन् । एक दशक अघिसम्म चीनको बजार यी ब्रान्डका सवारीसाधनको कब्जामा थियो । तर, चीनले विश्वबजारका कम्पनीबाट हासिल गरेको प्राविधिक ज्ञानलाई आफ्नै ब्रान्डमा प्रयोग गर्न थाल्यो । साथसाथै ठूलो रकम खर्चिएर खोज तथा अनुसन्धानमा केन्द्रित बन्दै गयो । परिणामस्वरूप अहिले चीन आफ्नै ब्रान्डमा अत्याधुनिक र सुविधासम्पन्न सवारीसाधन उत्पादन गर्ने स्थानमा पुगेको छ ।
डिजाइन र प्रविधिमा केन्द्रित देखिएको चिनियाँ ब्रान्डले भविष्यमा बजार लिनसक्ने आँकलन गरेर नयाँ प्रविधिका सवारीसाधन उत्पादन गर्न थालेको मात्रै छैन आक्रामक रूपमा अघि बढेका छन् । अहिले डिजाइन र प्रविधिमा चिनियाँ ब्रान्डकै दबदबा छ ।
विद्युतीय सवारीसाधनको खोज तथा अनुसन्धानमा ठूलो धनराशि खर्च गरेको चीनले हरेक दिनजसो केही न केही सुखद समाचार दिइरहेको छ र बिवाइडी आक्रामक देखिएको छ । बीवाईडीले अहिले ब्याट्रीको क्षेत्रमा नयाँ खोज तथा अनुसन्धान गरिरहेको छ । यसबाट आगामी दिन अझ विद्युतीय सवारीको प्रयोगमा सहजीकरण गर्ने छ । अहिले विद्युतीय सवारीमा ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
त्यसैगरी चांगन अटोमोबाइलले हुवावे र सीएटीएलसँगको संयुक्त साझेदारीमा ‘अविता’ नामक एक उच्चस्तरीय विद्युतीय सवारी साधनको नयाँ ब्रान्ड सार्वजनिक गर्ने तयारीमा छ । यस ब्रान्डको पहिलो गाडीको नमुनालाई ‘अविता ई ११’ नाम दिइएको छ । यो ब्रान्डको गाडीहरूमा उच्चस्तरीय बौद्धिक विद्युतीय सञ्जालको प्रयोग हुनेछ, जुन चांगन, हुवावे र सीएटीएलको संयुक्त सहकार्यबाट सम्भव भएको हो ।
नेपालमा हाल कारोबार भइरहेका बिवाईडी र एमजीलगायत अन्य ब्रान्डका विद्युुतीय सवारीले राम्रो चर्चा बटुल्न थालेको छ भने ग्रेटवाल, चेरी र चांगनजस्ता ब्रान्डले थप उत्साह थप्नेछ ।
कस्तो रहला अबको बजार
डेढ दशकअघि एक दर्जनकै हाराहारीमा नेपाल भित्रिएर एकाएक गुमनाम बनेका चिनियाँ ब्रान्ड अहिले जुन रफ्तारमा पुनः नेपाल प्रवेश गरिरहेका छन्, यसले विद्यमान सवारी बजारको समीकरणमा फेरबदल ल्याउने छ । भारतीय र कोरियन ब्रान्डको दबदबालाई हटाएर चिनियाँ ब्रान्डको वर्चश्व बढ्न सक्ने सम्भावनालाई अटोमोबाइल व्यवसायीहरूले नकार्न सक्दैनन् ।
विश्वबजारमै प्रभाव विस्तार गरिरहेको चिनियाँ ब्रान्डलाई नजिकको छिमेकी मुलुक भएकाले पनि नेपालमा बजार विस्तार गर्न सजिलो छ । नेपालमा अबको ५ वर्षभित्र चिनियाँ ब्रान्डले राम्रै गतिमा बजार विस्तार गर्ने अनुमान गरिएको छ ।