काठमाडौं । नबिल बैंकले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा (नबिल इको फ्रेन्ड्ली बिजनेस लोन) जारी गरेको छ ।
फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तीय आवश्कता पूरा गर्न आकर्षक सुविधा तथा ब्याजदरसहित नयाँ कर्जायोजना ल्याएको हो ।
यस योजनाअन्तर्गत बैंकले साविकको भन्दा शून्य दशमलव ५ प्रतिशत कममा कर्जा उपलब्ध गराउनेछ ।
बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नका लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरी व्यवसायीहरूमाझ वित्तीय पहुँचमा जोड दिनेछ ।
साथै, आफ्ना ग्राहकवर्गसम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उद्देश्यले ‘नबिल एसएमई’ सहकार्य योजनामा आबद्ध गराउनेछ ।
‘नविल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिङअन्तर्गतको विभिन्न प्रयासहरुमध्यको एक हो, जसअनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरणमैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ’, बैंकका एसएमई एन्ड एमएफ विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल) बताए ।
उनका अनुसार बैंकले यस कर्जा योजनाअन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमको रूपमा विकाष गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समावेश गर्नेछ ।