काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं (बीओके) बीच एक आपसमा गाभिने (मर्ज) का लागि समझदारीपत्र (एमओयू) भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जमा जाने सहमति गरेको केही दिनपछि बिहीबार बिहान होटल याक एन्ड यतिमा ग्लोबल र बीओकेबीच एमओयू भएको हो ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंक समान हैसियत १ बराबर १ अनुपातमा मर्जमा जाने सहमति भएको छ । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने छ ।
सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।
नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभेपछि ग्लोबलमाथि ठूलो बैंक भइरहन अर्को बैंक मर्ज गर्नुपर्ने बाध्यता आएको थियो । सोही कारण ग्लोबल आइएमईले सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक दिएर गाभ्ने सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।
ग्लोबल आईइमई बैंकले अहिलेसम्म दुईवटा वाणिज्य बैंकलाई मर्ज गरेको छ । ग्लोबलले जनता बैंक र कमर्ज एन्ड ट्रस्ट बैंकलाई आफूमा गाभिसकेको छ । १ः१ को अनुपातमा मर्ज हुँदा ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । मर्जपछि एकिकृत बैंकको अध्यक्षमा ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज बज्राचार्य कायम रहने सहमति भएको हो।
ग्लोबल आइएमई र बीओकेको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) बाट सिफारिस भई आउने सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) बाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको हो ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके मा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
मर्जर पश्चात् बैंकको कूल पुँजी ५२.२९ अर्ब, चुक्ता पुँजी ३४.४१ अर्ब, कूल निक्षेप ३ खर्ब ८४ अर्ब, कूल कर्जा ३ खर्ब ८० अर्ब रुपैयाँसहित चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।
दुवै बैंकले जेष्ठ मसान्तसम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।
दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरुले सयुंक्त रुपमा प्रतिवद्धता ब्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए । ग्लोबल आइएमई बैंक सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने गरेको बताउँदै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको स्पष्टपारे ।
उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधै संस्मरणमा रहने बताए ।उनले मर्ज हुनु प्राकृतिक प्रकृया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए। उनले नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विश्वास प्रकट गरे ।