महिनौंदेखि जारी रुस–युक्रेन युद्धको असर विश्वभर देखिइरहेको छ । यही कारणलाई लिएर युरोपले युक्रेनमाथि हमला गर्ने रुससँग ग्यास आपूर्ति निरन्तर कम गर्दै गइरहेको छ । जसले गर्दा लिक्विफाइ नेचुरल ग्यास (एलएनजी) को वैश्विक मूल्य अकासिँदो छ । र, यसको प्रभाव पछिल्लो समय पाकिस्तानले झेलिरहेको छ ।
आर्थिक एवं राजनीतिक संकटबाट गुज्रिरहेको पाकिस्तानका कैयौं सहरमा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ ।
दशक पुरानो गल्ती भारी
खासमा पाकिस्तानले करिब एक दशकअघि ऊर्जालाई लिएर नयाँ दीर्घकालीन नीति अपनाएको थियो । यो नीतिअन्तर्गत उसले एनएलजीमा ठूलो लगानी गरेका थियो । इटाली र कतारको कम्पनीलाई एलएनजी सप्लाई गर्न दीर्घकालीन सम्झौता दिएको थियो ।
तर, अहिले विश्वबजारमा एलएनजीको मूल्य बढिरहेको छ । यी कम्पनीले पाकिस्तानले पाउनुपर्ने एलएनजी कहीँ अन्यत्र लगेर अधिक मुनाफा कमाइरहेका छन् । साथै पाकिस्तानका पावर प्लान्टदेखि लिएर फर्टिलाइजर प्लान्टसम्मले एलएनजी अभावको सामना गरिरहेका छन् ।
हिट वेबबीच विद्युत् कटौती
पाकिस्तानको हालत कहाँसम्म पुगेको छ भने, गत महिना इद पर्व चलिरहँदा विद्युत् आपूर्ति बनाइराख्न स्पट मार्केटबाट झन्डै १० करोड डलर दिएर एउटा मात्र एलएनजी सिपमेन्ट किन्नुपरेको थियो । पाकिस्तानले विदेशी मुद्रा भण्डारको अभाव झेलिरहँदा एउटा सिपमेन्टका लागि उसले यति महँगो भुक्तानी गरेको थियो ।
निकै कोसिस गर्दा पनि उसले एलएनजी व्यवस्थापन गर्न सकिरहेको छैन । यसकै कारण पावर प्लान्टहरु ठप्प हुन पुगेका छन् र अत्यधिक लोडसेडिङ हुन थालेको छ ।
बिजुली बचाउन अनेक उपाय
बिजुली बचाउन पाकिस्तानले केही आक्रामक उपायहरु अपनाएको छ । यसमा सरकारी कर्मचारीलाई शनिबार छुट्टी दिनाका साथै सुरक्षाकर्मीलाई दिइने बजेटमा पनि ५० प्रतिशत कटौती गरेको छ । यस्तै विवाहजस्ता कार्यक्रममा पनि रोक लगाएको छ ।
फर्टिलाइजर प्लान्टलाई एलएनजीको सप्लाई रोकेर पावर प्लान्टलाई ज्यादा आपूर्ति गरिरहेको छ । कतिसम्म भने यो संकटले कतिपय क्षेत्रमा मोबाइलमा नेटवर्कसमेत छैन । विद्युत् अभावमा टावरले काम गरेका छैनन् । जेनेटर चलाउन तेल सकिएको अवस्था छ ।
कति बढ्यो एलएनजीको मूल्य ?
दुई वर्षमा यसको मूल्य १ हजार प्रतिशतले बढेको छ । कोभिडपछि यसको अत्यधिक माग बढ्दा भाउसमेत बढेको हो । त्यसपछि झन् रुस–युक्रेन युद्धले मूल्यवृद्धिमा आगोमा घिउ थप्ने काम गर्यो । यस्तै युरोपमा बढ्दो एलएनजी खपतले गत वर्षको तुलनामा उसले ५० प्रतिशत बढी एलएनजी खरिद गरेको छ । यसरी बढिरहेको मागको फाइदा उठाउँदै कम्पनीहरुले युरोपतिर एलएनजी बेचेर नाफा कमाइरहेका छन् ।
कसले पाएको थियो टेन्डर ?
पाकिस्तानले सन् २०१७ मा इटालीको कम्पनी एनी एसपीए र ट्रेडिङ हाउस गुनभर ग्रुपसँग एक दशकका लागि एलएनजी सप्लाई गर्ने टेन्डर दिएको थियो । यी दुवै कम्पनी अक्टोबर २०२१ देखि जुन २०२२ को बीचमा पाकिस्तानका दर्जनौं सिपमेन्ट डेलिभरी गर्न बन्द गरिसकेको छ ।
एजेन्सीकाे सहयाेगमा ।