काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ‘नेफ्स्कुन’को आयोजनामा जारी गोष्ठी सम्पन्न भएको छ । नेफ्स्कुनले काठमाडौंमा जारी गरेको दुई दिने साकोस शिखर गोष्ठी सोमबार सम्पन्न भएको हो ।
उक्त गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीहरूको उपस्थिति थियो । नेपाल सरकारको समेत सह आयोजना भएको उक्त गोष्ठीले १२ बुँदे घोषणपत्र जारी गरेको हो ।
बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्फत मर्यादित श्रम सिर्जना, गरीवी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित १२ बुँदे साझा घोषणापत्र गोष्ठीले गरेको छ ।
‘दिगो एवम् एकीकृत सञ्जालका लागि नविनतम् साझा प्रविधि’ मूल भाव र संकल्पका साथ आयोजित गोष्ठीमा पाँचवटा सामूहिक र चारवटा ब्रेकआउट सत्रमा सञ्चालन भएको थियो ।
गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेको थिए । सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रबर्द्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामुहिक पैरवी गर्न गोष्ठीमा सहभागीहरूले प्रतिबद्ध जनाएका छन् ।
त्यस्तै एकीकृत सूचना प्रणाली कोपोमिसमा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न समेत सहकारी संस्थाका प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् ।
सहकारी संस्था र सदस्यहरूमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागत रूपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न समेत उनीहरूले प्रतिबद्धता जनाएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनअनुसार १० करोडभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउनसमेत उनीहरू प्रतिबद्ध भएका छन् ।
नेफ्स्कुनका कोषाध्यक्ष दीपक पनेरुले घोषणापत्रमा उल्लेख भएका कुराहरूलाई व्यवहारमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आव्हान गरे । जारी घोषणापत्रमा सहकारी संस्था, सरकारी निकाय, राजनीतिक दलहरूले समेत प्रतिबद्धता जनाएको समेत उनले बताए ।