काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीति तयारी गरिरहेका बेला नीति परिवर्तनमा चौतर्फी दबाब सिर्जना गरिएको छ । सेयर बजारको विषयलाई लिएर यतिवेला संसददेखि सडकसम्म तातेको छ ।
संसदमा सांसदहरुले सेयर बजार घटेर लाखौं लगानीकर्ता सडकमा आउने अवस्था आएका बारेमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् भने सडकमा कतिपय लगानीकर्ताका समूहहरु आमरण अनशनको प्रयास गरिरहेका छन् ।
लगानीकर्ताका समूहहरुले नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्री जनार्दन शर्मादेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटेर सेयर बजार सुधारका विषयमा ध्यानाकर्षण गराइरहेका छन् ।
जति-जति लगानीकर्ताहरुको सरकारप्रति आक्रोस थपिँदै छ, त्यति-त्यति सेयर बजार ओरालो लागिरहेको छ । जेठ १५ गते संघीय बजेट आउँदा धेरैले सेयर बजारका समस्या समाधान हुने अपेक्षा गरेका थिए । तर, बजेटले पुरानै कार्यान्वयन हुन नसकेका कार्यक्रमलाई निरन्तरता दिएर पन्छियो । त्यसले सेयर लगानीकर्तामा थप आक्रोस पैदा गर्यो ।
सरकारले सेयर बजारका विषयमा कुनै चासो नदिए पछि लगानीकर्ताहरुले केन्द्रीय बैंकलाई दबाब दिने उद्देश्यले विभिन्न रणनीतिहरु अंगिकार गरिरहेका छन् । खासगरी, सेयर धितो कर्जा लिँदा १५० प्रतिशत जोखिम भार छुट्याउनुपर्ने, सेयर कर्जाको सीमा एउटा वित्तीय संस्थाबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोडभन्दा बढी लिन नपाइने, लघुवित्त संस्थाहरुले आफूसँग भएको सेयर बिक्री गरिसक्नुपर्ने र वाणिज्य बैंकहरुलाई सेयर कारोबारमा रोक लगाए पछि गत भदौबाट घट्न थालेको बजार असार १ गते बुधबार १९६६.३७ अंकमा आइपुगेको छ ।
बुधबार प्रिओपनिङ कारोबारमा बजार बढ्ने संकेत देखिएकोमा नियमित कारोबार सुरु भएलगत्तैदेखि घट्न थाल्यो र डेढ घण्टाकै बीचमा बजार सूचक नेपाल स्टक एक्सचेञ्ज १९४५.४२ अंकसम्म झर्यो । तर, त्यसपछि भने सूचक पटक-पकट उकालो लाग्ने कोसिसमा थियो । र, पनि सम्भव भएन र मंगलबारको तुलनामा करिब ३० अंकले घट्यो ।
१७३ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा सबैभन्दा बढी बलेफी हाइड्रोपावरको ८.७६ प्रतिशतले मूल्य गुमेको छ । उता घटेको बजारमा पनि २० कम्पनीले भने कमाएका छन्र । त्यसमध्ये सुरुवाती कारोबारमा रहेका आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेप्सेले न्यून बिन्दु खोजिरहँदा यो सााताको ४ दिनमा सबैभन्दा बढी बुधबार १ अर्ब ४६ करोड रुपौयाँ बराबरको सेयर किनबेच भएको छ । पछिल्लो समयकै न्यून कारोबार आइतबार ८७ करोड रुपैयाँको थियो । सोमबार ९९ करोडको कारोबार हुँदा मंगलबार भने १ अर्ब १५ करोड पुगेको थियो ।
खासगरी, आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी केन्द्रीय बैंकले गरिरहेको छ । केन्द्रीय बैंकको नीतिकै कारण सेयर बजार घटेको भनेर व्यापक आलोचन भइरहेको छ । यस्तो अवस्थामा केन्द्रीय बैंकलाई दबाब दिन चौतर्फी आक्रमण भएको छ । तर, जति घट्नुपर्ने तहसम्म बजार घटिसकेको छ ।
अब राष्ट्र बैंकको नीतिमा कुनै परिवर्तन नभए पनि बजार धेरै तल जाने अवस्था रहँदैन । विगतको प्रभावलाई हेर्दा पनि बजार अहिलेको बिन्दुबाट अब अधिकतम १०० देखि १५० अंकसम्म मात्रै घट्न सक्ने देखिन्छ । त्यो पनि मौद्रिक नीति अघि नै प्रयास हुनेछ । तर, राज्यले सेयर बजार सुधारका विषयमा गर्नुपर्ने धेरै कामहरु समयमा नगर्ने र लगानीकर्ताहरु न्यून बिन्दुमा आएपछि मात्रै आन्दोलन लगायतका नौटकी रच्ने कारणले सेयर बजार दीगो हुन सकेको छैन ।
विगतमा पनि सेयर बजार ११०० अंक हाराहारी हुँदा लगानीकर्ताहरु यसैगरी आन्दोलनमा उत्रिएका थिए । तर, जब बजार बढ्न थाल्यो त्यसपछि कसैलाई पनि केही चाहिएन । यस्तो स्थितिमा सेयर बजारलाई सकारात्मक बनाउन सबैपक्षको सकारात्मक प्रयास जरुरी छ ।