काठमाडौं । कोभिड महामारीका कारण अधिकांश व्यापार/व्यवसाय ठप्प भएका बेला ‘द बर्गर हाउस एन्ड कन्च्री फ्राइड चिकेन’ ले भने त्यही बीचमा ५० वटाभन्दा बढी आउटलेट खुलायो ।
काठमाडौंको शंखमूलमा रहेको एक घरको अन्डरग्राउन्डबाट सुरु भएको ‘द बर्गर हाउस एन्ड कन्च्री फ्राइड चिकेन’ ले ७ वर्षको अन्तरालमा १०१ वटा आउटलेट सञ्चालनमा ल्याइसकेको छ । युवा वर्गमा लोकप्रिय बनेको बर्गर हाउस २०७२ चैत्र ३० गतेबाट व्यवसायिक कारोबार सुरुवात गरेको थियो ।
७७ लाख रुपैयाँबाट सुरु भएको बर्गर हाउसले अहिले काठमाडौं उपत्यका ढाक्दै बाहिरी जिल्लामासमेत आफ्नो प्रभुत्व जमाउँदै गइरहेको छ । कोभिड अघिसम्म ५१ वटा आउटलेट सञ्चालन हुँदै आएको थिए ।
तर, कोभिडकै बीचमा ५० वटा आउटलेट खुलेको बर्गर ग्रुपका अध्यक्ष बसन्त लामाको भनाइ छ । कोभिडका कारण धेरै युवाहरु विदेशबाट नेपालमा आएको र केही गर्न चाहने युवाहरुको रोजाइमा बर्गर हाउस परेका कारणले पनि धेरै आउटलेट सञ्चालनमा आएको उनको भनाइ छ ।
नेपालमै केही गरौं र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ आउने व्यवसायीहरुलाई साथ दिँदै आएको उनले बताए । ‘म आफैं पनि युवा भएकाले युवाको जास र जाँगरलाई सधैं साथ दिइरहेको हुन्छु’, अध्यक्ष लामाले भने, ‘जसका कारण मुलुकभित्रै धेरै रोजगारी सिर्जना भइरहेको छ ।’
अहिले बर्गर हाउसमा मात्र प्रत्यक्ष रुपमा २ हजार ६ सयभन्दा बढीले रोजगारी पाइरहेका छन् भने अप्रत्यक्ष रुपमा त्योभन्दा बढीले रोजगारी पाइरहेको उनको भनाइ छ । उपत्यका बाहिरमात्र ३५ वटाभन्दा बढी आउटलेट भइसकेका छन् । तीमध्ये केही सञ्चालनको अन्तिम तयारीमा छन् । अहिले उपत्यका भित्रका अधिकांश ठाउँमा आउटलेट सञ्चालनमा आइसकेकाले अब उपत्यकामा कम गर्दै बाहिरी जिल्लामा फोकस गरिरहेको उनले बताए ।
सबै आउटलेटमा एकै स्वादको परिकार बनाउन तीन/चार जनाको टोली नै बनाएर काठमाडौं उपत्यकासहित अन्य जिल्लाहरुमा अनुगमन र मूल्यांकनका लागि खटाउने गरिएको जानकारी दिए । त्योसँगै कुनै पनि क्षेत्रमा आउटलेट दिनका लागि पहिला त्यो क्षेत्रमा गएर व्यावसायिक अध्ययन गर्ने र त्यसको आधारमा मात्र आउटलेट खोल्न दिने गरेको बताए ।
‘अहिलेसम्म खुलेका आउटलेटहरुमा आर्थिक रुपमा समस्या र खाद्यन्न तथा सेवाहरुका बारेमा गुनासो सुनिएको छैन’, अध्यक्ष लामाले भने, ‘सस्तो र मीठो भएकैले सबैले माया गरेका हुनसक्छन् ।’
अहिले बर्गर ग्रुपले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पनि नयाँ आउटलेट सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । २ करोडभन्दा बढी लगानी गरेर सञ्चालनको तयारीमा रहेको सो आउटलेटमा भने थकाली खानासमेत उपलब्ध गराउने छ । विमानस्थल र त्यस आसपासका ग्राहकहरुलाई लक्षित गरी आउटलेट तयारी गरिरहेको जानकारी दिए ।
अहिले उनी दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षसमेत भएका छन् । पाँच दिन गाउँमा र २ दिन काठमाडौंमा बसेर व्यवसाय र राजनीतिक यात्रालाई सँगसगै अघि बढाइरहेको उनको भनाइ छ । यताको व्यवसायमा अब आफू सधैं सक्रिय हुनु नपर्ने भएकाले पनि राजनीतिमा होमिएको उनको भनाइ छ ।
परिवर्तनका लागि आफैंबाट सुरुवात गर्नुपर्छ भन्ने सोचका साथ वडाबाट काम सुरु गरिएको उनले बताए ।