विश्व्यापी रुपमा सेयर बजारलाई अर्थतन्त्रको परिसूचकको रुपमा हेरिने गरिन्छ । सेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभएर अर्थतन्त्रको सम्पूर्ण पक्षको समुन्नतितर्फ इंकित गर्छ । लामो समयदेखि नेपालको सेयर बजार अस्थिर रहेको छ । २०७८ भदौ २८ गते ३१९८ को उच्चतम बिन्दुमा पुगेको सेयर बजार १९०० अंकमा आइसकेको छ । यस्तो परिघटनाले सेयर बजारमा नकरात्मक प्रभाव पारेको छ ।
योसँगै धेरै साना लगानीकर्ता उठ्न नसक्ने अवस्थामा पुगेका छन् । प्रत्येक दिन १० जना लगानीकर्ता मकहाँ गुनासो लिएर भेट्न आउने गर्छन् । यो समस्या राजधानी काठमाडौंको मात्र होइन, देशका साना सहर र साना लगानीकर्ताको हो । दुःख गरेर दुई पैसा जम्मा गरेका लगानीकर्ताहरुमध्ये कोही म झुन्डिएर मर्छु भनिरहेका छन् । हामी सडकमा आइपुग्यौं भन्ने गुनासा आउन थालेका छन् ।
सामान्य अवस्थामा सेयर बजार तलमाथि हुन्छ । यो नियमित प्रक्रिया हो । यो कुरा लगानी गर्नेलेसमेत बुझ्नुपर्छ । तर, कुनै अस्थिर नीतिको कारणले गर्दा वा बजारको ह्रासले अहिले विद्यमान र सम्भाव्य सबै लगानीकर्तालाई बजारबाट निरुत्साहित गराइसकेको छ । तरलताको अभावले सेयर बजारमा समस्या ल्याउनु स्वभाविक हो । नेपाल राष्ट्र बैंकले सेयर कर्जालाई संकुचन गर्ने नीतिले बजारमा यस्तो अवस्था आयो भन्ने कुरा बाहिर आएका छन् । यसका बारेमा सरकारको ध्यानाकर्षण हुनैपर्छ ।
त्यसैले सेयर बजारको स्थायित्व र विश्वास कायम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डजस्ता नियमनकारी निकायहरुले के–कस्तो कार्य गरिरहेका छन् यसको जानकारी सदनलाई गराउनुपर्छ ।
साना लगानीकर्ताहरुको सुरक्षाका लागि के कस्ता कामहरु भइरहेका छन् ? त्यो जानकारी गराइयोस् ।
वास्ताविक क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत धितोपत्र बजारमा ल्याएर अर्थतन्त्रलाई फराकिलो बनाउने बेलामा सेयर बजारमा ह्रास आउनु सकारात्मक कुरा होइन । धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको हुनुपर्छ ।
हामीलाई सोधेर लगानी गरेका थियौं र ? यो तिमीहरुको कुरा हो भन्न सकिन्छ । आम लगानीकर्ताहरुलाई हिजोका दिनमा यसको जोखिमका बारेमा जानकारी नगराउँदा आजको दिनमा यस्तो अवस्था आएको हो । त्यसैले सेयर बजारलाई ठीक ठाउँमा ल्याउनैपर्छ । यस्तो अवस्थामा ४० औं लाख मान्छे एकैपटक सडकमा आइपुग्दा हामीले थेग्न सकौंला कि नसकौंला ? यसमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।