काठमाडाैं । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ ।
गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष संकटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनर्निर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।
गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौं स्थानीयवासी विस्थापित भए । उनीहरू हालसम्म अस्थायी टहरामै बस्दै आएका छन् । उनीहरू सुरक्षित वासस्थानको पर्खाइमा छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारविहीनलाई ५ रुपैयाँ लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ ।
बाढीले घरखेत बगाएपछि बेसहारा बनेका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन् । बाढीले उनको घर बगायो भने खेत बगरमा परिणत भयो । उनी हाल सुकुम्वासी बनेका छन् ।
'सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन', उनले पीडा सुनाए ।
हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियोे । ५ हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै ७ झोलुंगे पुल, ९ पक्कीपुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए । हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन् ।
प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो । गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । 'निजी आवास निर्माणको प्रक्रिया अगाडि बढेको छ, केही समस्याका कारण यसमा ढिलाइ भएको छ', उनले भने ।
यस्तै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बाढी प्रभावितका लागि छिट्टै काम गर्ने बताउँछन् । खोलाको अतिक्रमण गरी घरलगायत संरचना निर्माण गर्दा पनि अत्यधिक क्षति भएको हो ।
मेलम्ची, इन्द्रावती र पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अघि आएको बाढीले बगाएपछि झन समस्या भएको छ ।