काठमाडौं । प्रस्तावित ९९.८ मेगावाटको तामाकोसी पाँचौं आयोजना बनाउन दुई साताभित्रै ऋण लगानी सम्झौता हुने भएको छ । कर्मचारी सञ्चय कोष र तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडबीच आयोजना बनाउन एक महिनाभित्र ऋण सम्झौता हुन लागेको हो ।
ऋण सम्झौताको काम अन्तिम चरणमा पुगेको तामाकोसी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नसिवमान प्रधानले बताए ।
‘अबको दुई साताभित्रै ऋण सम्झौता गर्न लागेका छौं । ढिलोमा एक महिनाभित्र सकिने छ’, उनले क्यापिटल नेपालसँग भने ।
आयोजना बनाउन अनुमानित लागत १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) छ । आयोजनामा सञ्चय कोषले ७० प्रतिशत अर्थात् ११ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गर्ने विषयमा २०७८ साउन १४ गते समझदारीपत्र (एमओयू) भएको थियो ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्वसाधारणलाईसमेत सेयर निष्कासन गरी जुटाइनेछ ।
आयोजनाको सरकारले लगानी स्वीकृत गरेको छ ।
माथिल्लो तामाकोसीको विद्युतगृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको आकर्षक आयोजना हो ।
सीईओ प्रधानका अनुसार आयोजना निर्माणमा जानुपूर्वका सबै काम भइरहेको छ । परामर्शदाता छनौटको काम अन्तिम चरणमा पुगेको छ । ऋण लगानीकर्ता सञ्चय कोषसँग वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौताको पनि अन्तिम तयारी भइरहेको छ ।
यस्तै निर्माण व्यवसायी छनौटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको छ । आयोजनाको कुल लगानीमध्ये १२ अर्ब कोषले उपलब्ध गराउँदा थप ४ अर्ब रुपैयाँ नेपाल विद्युत् प्राधिकरणले लगानी गर्नेछ । माथिल्लो तामाकोसीको विद्युतगृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरीदोभान पुर्याइनेछ ।
आयोजनामा ८ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । यसमा बाँध निर्माण गर्नु नपर्ने भएकाले पनि थप सहज भएको छ । तामाकोसीको टेलरेस सुरुङलाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक निर्माण भइसकेको छ ।
तामाकोसी पाँचौंमा २५ मेगावाट क्षमताको चार युनिट रहनेछ । आयोजनामा बाँध बनाउन नपर्ने, सडक र प्रसारण लाइन पूर्वाधार तयार भएकाले थप लगानी गर्नु नपर्दा आयोजना सस्तो देखिएको हो ।
वित्तीय रुपमा आकर्षक मानिएको आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ देखिएको छ । आयोजनाले वार्षिक रुपमा ५४ करोड युनिट ऊर्जा उत्पादन गर्नेछ ।
छनौट भएका कम्पनीहरुबीचमा विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) गर्ने तयारी छ । एक वर्षभित्र टेन्डरको काम सकेर २०८४ भित्र आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको छ ।
इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक (ईपीसी) खाकामा आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रोमेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ ।