एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाँच वर्ष अवधिका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) को मिडिया अधिकार बिक्री गरेको छ ।
बीसीसीआईले भारतको सबैभन्दा ठूलो लिग गेम आईपीएलको मिडिया अधिकार पाँच वर्षका लागि ४ खर्ब ८३ अर्ब ९० करोड भारुमा डिज्नी स्टार र रिलायन्स इन्डष्ट्रिजको भायाकम १८ लाई बिक्री गरेको हो । आईपीएल विश्वको दोस्रो सबैभन्दा मूल्यवान लिग हो ।
डिज्नी स्टारले २ खर्ब ३५ अर्ब ७५ करोड भारुमा भारतीय उपमहाद्धिपका लागि आईपीएलका खेलहरुको प्रत्यक्ष प्रसारण (लाइभ) गर्न पाउने भएको छ । यस्तै डिजिटलतर्फको अधिकार रिलायन्स इन्डष्ट्रिजको भायाकमले २ खर्ब ५ अर्ब भारुमा पाएको छ ।
यसैगरी भायकमले प्याकेज सी २९ अर्ब ९१ करोड भारुमा पाएको छ । प्याकेज ए र बीका लागि सन् २०२३ र २०२४ मा ७४ वटा क्रिकेट खेल हुनेछन । यस्तै सन् २०२५ र २०२६ मा प्रत्येक ८४ सहित कुल ४१० खेलका लागि डिज्नी र भायाकमले सो रकम तिरेर मिडिया अधिकार प्राप्त गरेका हुन् ।
यसैगरी विदेशी टिभी र डिजिटल राइट्स अन अफरको साथ प्रति गेम ३ करोडको आधार मूल्यको प्याकेज डी भायाकम र टाइम्स इन्टरनेटलाई १३ अर्ब २४ करोड भारुमा बिक्री गरिएको छ ।
‘डिज्नी स्टार इन्डियाले २ खर्ब ३५ अर्ब ७५ करोड भारु बोलीमा भारतीय टिभी अधिकार जितेको घोषणा गर्न पाउँदा म रोमाञ्चित छु । यो बिड दुई महामारी वर्षको बावजुद बीसीसीआईको संगठनात्मक क्षमताको प्रत्यक्ष प्रमाण हो’ बीसीसीआई सचिव जय शाहले ट्वीट गरेका छन ।
भायाकनले २ खर्ब ३७ अर्ब ५८ करोड भारु विजयी बोलीको साथ डिजिटल अधिकारहरू प्राप्त गरेको छ । भारतले डिजिटल क्रान्ति देखेको छ । यस क्षेत्रमा अनन्त सम्भावनाहरू छन्। डिजिटल परिदृश्यले क्रिकेट हेर्ने तरिका परिवर्तन गरेको छ । यो खेलको विकासमा ठूलो कारक भएको छ’ उनले थपे ।
आज भारत क्रिकेटको लागि महत्वपूर्ण दिन भएको छ ।आईपीएलले ई–लिलामीको साथ मूल्यको हिसाबले आईपीएल विश्वमा महंगो लिग खेल हो भनेर बीसीसीआई सचिव जय शाहले भनेका छन । बीसीसीआईले आईपीएलबाट प्राप्त गर्ने आम्दानीलाई घरेलु क्रिकेट संरचनालाई बलियो बनाउन, पूर्वाधारलाई बढावा दिन प्रयोग गर्ने शाहले स्पष्टपारेका छन ।
बीसीसीआईका अनुसार प्रति आईपीएल खेलको मूल्य अघिल्लो ५४.५ करोडबाट १०० प्रतिशतले बढेर ११४ करोड भारु माथि पुगेको छ ।