काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक ३६.०७ अंकले घटेर २ हजार बिन्दु तल झरेको छ । यस दिन नेप्से परिसूचक ३६.०७ अंकले घटेर १९ सय ९६.२६ बिन्दुमा झरेको छ ।
यस दिन २ हजार तल झरेको बजारमा १ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन बजार २०३२ बिन्दुमा खुलेको हो । २ हजार ३२ बिन्दुमा खुलेको बजार खुलेदेखि नै निरन्तर ओरालो यात्रामा अगाडि बढेर २ हजार बिन्दु तल झरेर बन्द भएको छ ।
पछिल्लो करिब ९ महिनादेखि बजार निरन्तर घट्दै गइरहेको भन्दै लगानीकर्ताले नियामकको विरोध जनाइरहेका छन् ।
लगानीकर्ताले विरोध गरिरहँदा अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच कमिटी बनाएर सेयर बजारको अध्ययन गर्ने र प्रतिवेदनका आधारमा देखिएको समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो ।
नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा सेयर बजार समस्या समाधान कमिटी गठन गर्ने बताए पनि अहिलेसम्म अर्थबाट औपचारिक पत्र गएको छैन ।
नियामक निकायहरु पुँजी बजारमा रहेका समस्या समाधानार्थ अघि नबढेसम्म बजार निरन्तर ओरालो लाग्ने लगानीकर्ता बताउँछन् ।
माैद्रिक नीतिमा ४/१२ लगायतका पुँजी बजार सुधारका कुरा सम्बोधन भए मात्र बजार बढ्ने देखिन्छ । मौद्रिक नीतिले आगामी बजारको बाटो तय गर्ने देखिन्छ ।
यति बेला अधिकांश कम्पनीहरुको सेयर मूल्य अन्डरभ्यालु भएको देखिन्छ । नेप्सेमा मंगलबार २३२ कम्पनीको ४१ लाख ४७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यस दिन आँधीखोला लघुवित्त संस्थाको सेयर मूल्य सबैभन्दा उच्च ८.१८ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन पावर पाटर्नरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै नेपाल क्रेडिड एन्ड कमर्स बैंकको ३ करोड ७९ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाखको भएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमोटर र सिंगटी हाइड्रोलगायत कम्पनीको सेयरमूल्यमा उच्च गिरावट देखिएको छ । यस दिन कुमारी बैंकको सर्वाधिक ६ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।