काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वैशाख मसान्तसम्म करिब डेढ लाख ऋणीलाई २५६ अर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । बैंक वित्तीय संस्थाले १० प्रकारका सहुलियतपूर्ण कर्जामा सो रकम कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।
अहिलेसम्म बैंक तथा वित्तीय संस्थाको संख्या (क, ख, ग र घ) मा क्रमस २७, १७, १७ र ६५ गरी १२७ संस्था रहेका छन् । वैशाख मसान्तसम्मा बैंक वित्तीय संस्थामार्फत २१६ अर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा स्वीकृत हुन् बाँकी नै छ ।
वैशाख मसान्तसम्म (क) वर्गका २७ वाणिज्य बैंकहरुले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, बिना धितो, धितोसहितको, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित व्यवसाय कर्जा, उच्च र प्रविधि तथा व्यवसायीक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालन कर्जा, युवा स्वरोजगार कर्जा र प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम कर्जा शीर्षकका कर्जामा १ लाख २४ हजार ७ सय ७१ जना ऋणीलाई २२३ अर्ब ७५ करोड सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ भने १८७ अर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत हुन् बाँकी रहेको केन्द्रीय बैंकले जनाएको छ ।
साथै (ख) वर्गका विकास बैंकले १० प्रकारको सहुलियतपूर्ण कर्जामा १९ हजार ६ सय ९५ जनालाई २९ अर्ब ३४ करोड सहुलियतपूर्ण कर्जा स्वीकृति भएकोे छ भने २५ अर्ब ५६ करोड स्वीकृत हुन् बाँकी छ । (ग) वर्गका फाइनान्स कम्पनीहरुले १८ सय २ जनालाई ३ अर्ब १६ करोड सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ भने २ अर्ब ८५ करोड कर्जा स्वीकृत हुन् बाँकी छ ।
त्यस्तै (घ) वर्गका लघुवित्त संस्थाले १ सय ६ जनालाई १० करोड ५१ लाख रुपैयाँको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ भने १४ करोड ६३ लाख रुपैयाँ बराबरको कर्जा स्वीकृत हुन् बाँकी रहेको केन्द्रीय बैंकले जनाएको छ ।