काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सक्रियतामा लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणको विषयमा सोमबार मन्त्रालयमा छलफल भएकाे छ ।
यस छलफलमा मन्त्री भट्टराई, सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ प्रतिनिधि, गृह मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, नेपाल होटल संघ, वायुसेवा सञ्चालकका प्रतिनिधि, पर्यटन बस व्यवसायी संघलगायतका पर्यटन तथा हवाई क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
मन्त्री भट्टराईले अासन्न ‘भ्रमण वर्ष–२०२०’ र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर निराकरणका लागि आवश्यक तयारी तथा पूर्वशर्तकता अपनाउन सबै सरोकारवालाहरुलाई निर्देशन दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सबै विमानस्थल सफा राख्ने तथा उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सही सूचना शीघ्र प्रवाह गरी यसको असर न्यूनीकरण गर्न जोड दिए । मन्त्री भट्टराईले खुला क्षेत्र रहेका तथा पर्यटकहरुको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहा लगायतका पर्यटकीय क्षेत्रहरुमा सरसफाई अभियान चलाउन निर्देशन दिए ।
यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा यससम्बन्धी तथ्यपूर्ण सूचना सम्प्रषेण गरी नेपालको पर्यटन क्षेत्रमा यसको असर पर्न नदिन तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय दृष्टीले नेपाल पूर्ण सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।