काठमाडौं । निम्बस होल्डिङ्सअन्तर्गतको प्रोबायोटेक इन्डिस्ट्रिज प्राइभेट लिमिटेडको व्यापारमा उल्लेख्य वृद्धि भएको छ ।
पशुदाना तथा खाद्य तेल उत्पादन गर्र्दै आएको नेपालकै ठूलो उद्योग प्रोबायोटिकको व्यापार सन् २०२१ साढे ३४ प्रतिशतले बढेको छ । सन् २०२१ मा प्रोबायोटिकको सञ्चालन आम्दानी बढेर ११ अर्ब १० करोड ९० लाख रुपैयाँ पुगेको छ ।
२०२० मा कम्पनीले ८ अर्ब २५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । २०२० को तुलनामा २०२१ मा २ अर्ब ८५ करोड ३० लाख रुपैयाँ आम्दानी बढेको छ ।
यस्तै सन् २०१९ मा ७ अर्ब ७३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै सन् २०१८ मा ६ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको थियो । ४ वर्षको वित्तीय विवरणअनुसार कम्पनीको व्यापार ग्राफ निरन्तर उकालो लागेको छ । जसले गर्दा कम्पनीको सञ्चालन आम्दानीमा पनि वृद्धि भएको छ ।
सन् २००१ मा स्थापना भएको प्रोबायोटेकले पशुको आहारा, खानेतेल र दाललगायत खाद्यन्न उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन क्षमता वार्षिक १ लाख टन छ । यो नेपालकै ठूलो प्लेट फिड उत्पादन गर्ने उद्योग हो । उद्योगको वित्तीय अवस्था स्वस्थ रहेको छ ।
कम्पनीको वार्षिक वृद्धिदर ३१ प्रतिशत रहेको छ ।
प्रोबायोटेकको व्यापार दुई खण्डमा छ । दाना र खाना जस्तै; खाद्य तेल, दाल, पीठो, डल्ला रहेको छ । हालको अवधिमा दाना खण्डअन्तर्गत ब्रोइलर र लेयर फिड उत्पादन गरिएको छ ।
खाद्यअन्तर्गत सोयाबिन तेल र दाल उत्पादन गरिरहेको छ । कारखाना वीरगन्ज–२१, लिपानीबिर्ता जगरनाथपुरमा छ ।
कम्पनीले व्यञ्जन, शक्ति, शक्ति हाइगेन, सोयम्याक्स, सुनौलो किरण, प्रोविट र प्रोमिन ब्रान्डका वस्तु उत्पादन गर्दै आएको छ ।
प्रोबायोटेकमा निम्बसको ६४ प्रतिशत हिस्सा रहेको छ । कम्पनीले ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा नेपाल लिमिटेडले इक्रा एनपी ए फोर रेटिङ दिएको छ ।