काठमाडौं । निजी लगानीबाट स्थापना भएको हाइटेक्स कार्पेट प्राइभेट लिमिटेडको व्यापारमा चमक आएको छ । सन् २०२१ मा उद्योगको सञ्चालन आम्दानी ७०.९१ प्रतिशतले बढेर ७६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष हाइटेक्सले ४४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२० को तुलनामा २०२१ मा हाइटेक्सको आम्दानी ३१ करोड ७० लाख रुपैयाँ बढेको छ । सन् २०१९ मा उद्योगले ५० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
३ वर्षको वित्तीय विवरण हेर्दा उद्योगको व्यापार बर्सेनि बढ्दै गएको देखिन्छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा उद्योगले ४४ करोड ५० लाख रुपैयाँ व्यापार गरेको छ । परिमाणका आधारमा उद्योगको कार्पेट बिक्री ५१ प्रतिशतले बढेर १७ लाख २८ हजार २३९ वर्गमिटर पुगेको छ ।
बजारमा कार्पेटको माग बढेपछि उद्योगको व्यापार विस्तार हुँदा आम्दानीमा व्यापक सुधार आएको हो । यस अवधिमा उद्योगले कारखानाको क्षमता बढाएर उत्पादनमा बढोत्तरी गरेको छ । यद्यपि बजारमा तीव्र प्रतिस्पर्धाले गर्दा नाफामा असर गर्दै आएको छ ।
उद्योग सन् २०१५ मा स्थापना भएको हो । उद्योगले रग्स र कार्पेटहरु उत्पादन गर्दै आएको छ ।
हाइटेक्स नेपालको पहिलो रग्स र कार्पेट उत्पादन गर्ने कारखाना हो ।
६ वटा लुम रहेको हाइटेक्समार्फत वार्षिक ३० लाख वर्गमिटर कार्पेट र रग्स उत्पादन हुने गरेको छ । भाडा लागतमा बचतको लाभ र भारतीय सिमाना नजिक भएका कारण कम्पनीलाई निर्यातमा पनि फाइदा हुन्छ । उद्योगले बैंकबाट ऋण लिएर उत्पादन क्षमता वार्षिक ४० लाख वर्गमिटर पुर्याएको छ ।
नेपाल–भारत सीमा नजिक भएकाले र कच्चा वस्तुको आयात लागत सस्तो हुने भएकाले उद्योगले प्रतिस्पर्धी लाभ लिन सक्नेछ । यसको कर्पोरेट कार्यालय र कारखाना जोगवनी भन्सार कार्यालयबाट करिब २७ किलोमिटर टाढा नेपालको विराटनगरमा अवस्थित छ ।
उद्योगको मुख्य कच्चापदार्थ पोलिप्रोपाइलिन धागो, पोलिस्टर स्पन यार्न, जुट यार्न, लेटेक्स र नायलन हुन् ।
यी कच्चा वस्तु टर्की, बंगलादेश, इन्डोनेसिया, चीन र भारतबाट आयात गरिन्छ । हाइटेक्सले १ अर्ब १९ करोड ८१ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङसले उद्योगको ऋणलाई केयर एनपी ए फोर दिएको छ ।