काठमाडौं । डिल्लीबजारको सिल्भरसिटी अपार्टमेन्टसँगै रहेको ‘द एड्रेस लाउन्ज’को बिल्डिङमा चारतारे होटल सञ्चालनमा आउने भएको छ ।
१ अर्ब रुपैयाँ लगानीमा खुल्न लागेको सो होटलको अहिले भित्री सजावटको काम भइरहेको छ । बालाजी होल्डिङ एन्ड होटलले सञ्चालन गर्ने सो होटल चारतारे स्तरको हुने सञ्चालक अमन पोदारले जानकारी दिए ।
सर्भिस अपार्टमेन्टको रूपमा निर्माण भएको सो लाउन्जको बिल्डिङमा सञ्चालन हुने होटलमा ८३ वटा कोठाहरू रहनेछ । लक्जरियस स्टाइलका कोठाहरु र त्यही किसिमका सेवा-सुविधा दिने गरी निर्माण भइरहेको सो होटल सन् २०२२ भित्रै सञ्चालनमा आइसक्ने सञ्चालक पोदारको भनाइ छ ।
लामो समयदेखि रियल स्टेट र ट्रेडिङ बिजनेश गर्दै आएका पोदारको परिवारको हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको छ । पोदारका हजुरबुबा स्व.राजेन्द्र पोदार चीनबाट इलेक्ट्रिक सामान आयात गर्थे । उनका बुबा विमलकुमार रियलस्टेट बिजनेसमा छन् । सिल्भरसिटी अपार्टमेन्ट उनै पोदारले बनाएका हुन् ।
सिल्भरसिटीको दोस्रो फेजको रुपमा निर्माण भएको सो भवनमा यसअघि नै होटल सञ्चालन गर्ने भनिए पनि कोभिडलगायत विभिन्न समस्याले ढिला भइरहेको थियो । बिस्तारै कोभिड संक्रमण कम हुँदै गएको र नेपालमा पर्यटकहरुको संख्या पनि बढिरहेको बेला होटल सञ्चालनका लागि आन्तरिक तयारी तीव्र पारिएको सञ्चालक अमनको भनाइ छ ।
अहिले हस्पिटालिटी क्षेत्रको काम उनै अमनले लिड गरिरहेका छन् । वेडिङ इभेन्टसहित लामो समयसम्म होटलमा बस्न आउने ग्राहकलाई विशेष जोड दिएर साेही किसिमक कोठा डिजाइन गरिएको उनको भनाइ छ ।
होटलमा तीनवटा कोठा लक्जरीयस सुइट रुम हुनेछन् । सो रुममा २ वटा बेड रुम र लिभिङ स्पेस धेरै रहेको छ । जसलाई फरेन कल्चरको रुमको रुपमा बनाइएको छ ।
यो खालको रुम नेपालमै पहिलो हुने अमनको दाबी छ । सो रुमको डिजाइन भने अमन आफैंले गरिरहेको बताउँछन् । बेडसँगै बाथटब लगाइएको र त्यहीँबाट काठमाडौं उपत्यकालाई नियाल्न सकिने सुविधा रहेको बताए । ती कोठाहरुमध्ये डबल बेड भएको मूल्य ३५ देखि ३८ हजार र दुइटा कोठा २० देखि २५ हजारसम्मका हुनेछन् ।
साढे २ रोपनी क्षेत्रफलमा निर्माण भएको सो होटल अवको ६ देखि ८ महिनाभित्रमा सञ्चालनमा आइसक्ने छ । होटलकाे नाम सार्वजनिक नगरे पनि ब्रान्ड आफ्नै रहने र केही समयका लागि व्यवस्थापनको जिम्मेवारी भारतीय कम्पनीलाई दिने तयारी भएको छ ।
'कुन कम्पनीलाई जिम्मा दिने भन्ने निर्णय भइसकेको छैन', सञ्चालक पोदारले भने, 'व्यवस्थपकीय जिम्मेवारी भने विदेशीलाई दिने तयारी छ ।
डिल्लीबजारमा रहेको सिल्भर सिटी अपार्टमेन्टसँगै जोडिएको १५ औं तलाको सो भवनको माथिल्लो तीन तलामा लाउन्ज,रेष्टुराँ र जिमहल हुने छ । लाउन्ज र रेष्टुराँ अहिले पनि सञ्चालनमा छ भने जिम हल निर्माणको चरणमा छ ।