काठमाडौं । इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) को यात्रा ३० वर्षभन्दा बढी भइसकेको छ । अफिसियल रुपमा २२ औं वर्षमा प्रवेश गरे पनि आईएमईको तयारी गरेको करिब ३० वर्ष पूरा भइसकेको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक २२ औं वार्षिकोत्सव कार्यक्रमा ३० वर्षको मिहिनेत र २२ वर्षको यात्रामा लागेको बताए ।
क्षेत्रपाटीको एउटा कोठा जहाँ अफिस, किचन र बेडरुमसमेत एकैठाउँमा राखेर सुरु गरेको आईमएई यो अवस्थासम्म आइपुग्दा खुसी लागेको बताए । ‘यो हाम्रो परिवारको मात्र सफलता होइन’, अध्यक्ष ढकालले भने, ‘आम नेपाली र विशेषगरी विदेशमा रहेका नेपालीहरुको साथका कारण भएको हो । यसको श्रेय विदेशमा रहेका नेपालीहरुलाई नै जान्छ ।’
ग्रुपका प्रबन्ध निर्देशक एवं उपाध्यक्ष हेमराज ढकालले ३ दशकको यात्राका क्रममा धेरै पाठहरु सिकेको र त्यसैलाई व्यवहारमा उतार्दै लगेको बताए । रोजगारीका लागि जापानमा रहँदा नेपालमा पैसा पठाउन भएको समस्या समाधानका लागि औपचारिक उपायको खोजी गर्ने आईएमई जन्मिएको बताए ।
‘हामी आफैं रोजगारीका लागि भौतारिरहेका व्यक्तिले २२ वर्षको दौरानमा ४० हजारभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेका छौं भन्दा गौरवको महसुस गरेका छौं’ उपाध्यक्ष ढकालले भने ।
आईएमई सुरु गर्दा विभिन्न चुनौतीहरु र हुन्डी कारोबार गर्नेहरुले रोक्न खोज्दा खोज्दै पनि नेपाल राष्ट्र बैंकले विश्वास गरेर निजी क्षेत्रलाई पहिलोपटक विदेशबाट रकम ल्याउने अनुमति दिएकै कारण धेरै रेमिट्यान्स कम्पनीहरु खुलेको र रेमिट्यान्सलाई व्यवस्थित गर्न सकिएको उनको भनाइ थियो ।
२२ वर्षको अन्तरालमा आईएमईले मात्र करिब २० खर्बभन्दा बढी रकम विदेशबाट नेपालमा ल्याएको छ’, उनले सुनाए ।
अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्स औपचारिक क्षेत्रबाट भित्र्याउने कल्चर ल्याएकामा खुसी व्यक्त गर्दै अझै ३० देखि ४० प्रतिशत रकम हुन्डीबाटै आउने भन्दै चिन्ता व्यक्त गरे । सरकारले निर्वाह गर्नुपर्ने दायित्व आईएमईले लिएको बताउँदै अब रेमिट्यान्सलाई उत्पादनसँग जोड्न आवश्यक रहेको उनको धारणा थियो ।
हुन्डी कारोबार रोक्नका लागि सरकार पूर्णरुपमा प्रतिबद्ध भएर लागिरहेको बताउँदै बैंकमार्फत विदेशबाट रकम पठाउन सक्ने व्यवस्था लागू अनिवार्य गर्न लागेको उनको भनाइ छ ।
विदेशमा परिश्रम गरेर कमाएको रकमलाई उत्पादनसँग जोडेर दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउनका लागि सरकारले आवश्यक नीतिहरु ल्याइरहेको बताउँदै त्यसका लागि नेतृत्वदायी भूमिका आईमएईले गर्नुपर्ने बताए ।
मुख्यसचिव शंकरदास वैरागीले आईएमईले रेमिट्यान्स भित्र्याउनका लागि गरेको भूमिका अतुलनीय रहेको बताए । विदेशमा गएर कमाएको रकम सहज र सरल तरिकाले आफ्नो परिवारलाई पठाउने माध्यमको रुपमा आईएमई बनेको बताउँदै अबउत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।
अहिलेसम्म जति रकम आएको छ त्यो रकम सबै घरखर्चमै सकिएको बताउँदै उत्पादन क्षेत्रमा लगानी गरेर थप रोजगारीको अवसर सिर्जना गर्न उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
अर्थसचिव मधुकुमार मरासिनीले आईएमईकै कारण नेपालमा लिगल रुपमा रेमिट्यान्स ल्याउने बाटो खुला भएको बताए । हुन्डीमार्फत विदेशबाट रकम आइरहेका बेला आईएमईको प्रवेशपछि लिगल रुपमा रकम आएको बताउँदै रेमिट्यान्सकै कारण आर्थिक सूचकांकमा सुधार आएको उनको भनाइ छ ।
‘रेमिट्यान्सकै कारण गाउँघरका सर्वसाधारणहरुलाई स्मार्ट बनाएको छ’, अर्थसचिव मरासिनीले भने ।
गैरआवासीय नेपाल संघका अध्यक्ष कुल आचार्यले आईएमईकै कारण विदेशमा रहेका नेपालीहरुले सहजै रुपमा रकम पठाउन पाइरहेको बताए । अब उनीहरुले पठाएको केही रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्नका लागि गैरआवासीय संघ आईमएईसँग सहकार्य गर्न तयार रहेको समेत बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले हुन्डीमार्फत आउने रकमलाई व्यवस्थित गर्नकै लागि आईमएई जन्मिएको बताउँदै उसको भूमिकाको प्रशंसा गरे ।
विदेशबाट आउने रकमलाई मात्र होइन, विदेशबाट सीप सिकेर फर्किनेहरुसँग परिसंघले सहकार्य गरेर काम गर्नका लागि तयार रहेको उनले सुनाए ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले पछिल्लो समय हुन्डीमार्फत कारोबारीहरु फेरि सक्रिय हुन लागेको बताउँदै फर्मल च्यानलबाट रेमिट्यान्स पठाउनेहरुलाई सरकारले केही सहुलियतका प्याकेजहरु ल्याउन आवश्यक रहेको बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र श्रममन्त्री गोकर्ण विष्टका कारण मलेसियालगायत मुलुकमा रोजगारीका लागि श्रमिकहरु जान नपाएकै कारण केही समय रेमिट्यान्समा समस्या भएको बताए ।
‘नेपालमा रोजगारी नदिने र विदेशमा जाने बाटो पनि बन्द गरेकै कारण केही वर्ष रेमिट्यान्समा कमी भएको थियो’, पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘फेरि कोभिडले समस्यामा पारेको छ ।’
आइएमई ग्रुपका उपाध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सलाई उत्पादनमा जोड्नका लागि गाउँगाउँमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम केही समयभित्रै सार्वजनिक गर्ने तयारीमा लागेको बताए ।
‘रेमिट्यान्सलाई डिजिटलमैत्री बनाउन पनि काम भइरहेको छ’, उपाध्यक्ष पोखरेलले भने, ‘बैंकिङ च्यानलमार्फत आउने व्यवस्था पनि छिट्टै गर्दैछौं ।’
आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कोभिडका कारण दुई वर्षदेखि समस्यामा परेको रेमिट्यान्समा बिस्तारै सुधार हुँदै आएको बताए ।