काठमाडाैं । नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बैंकको मधेस प्रदेश केन्द्रित बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
गत जेठ २४ गते सोमबारदेखि २६ गते बिहीबारसम्म धनकुटाको भेडेटारमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरू समेत गरी ४५ जनाको सहभागिता थियो।
प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रूपमा आयोजना गरेको साे बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिमसमेत प्रदान गरिएको थियो।
बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तरक्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरू समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारीता बढी हुने विषयमा कार्यक्रममा छलफल भएको थियो।
साथै, आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिने लगायतका विषहरूमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरू तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरू प्रत्यक वर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति नेपालको बैंकिङ क्षेत्रको युवाहरू रहेको उल्लेख गरे।
साे कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मधेस प्रदेश प्रमुख शिवराम मीश्र, तालिम तथा विकास डिभिजन प्रमुखप्रसाद सिवाकोटी, कृषि कर्जा डिभिजन प्रमुख बालकृष्ण चौलागाईं लगायतको सहभागिता थियो।
हाल बैंकले आफ्नो देशभर रहेको २ सय १७ शाखाह, १७९ एटीएम र ४९ वटा एक्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा पुर्याइरहेको छ।