काठमाडौं । केही दिनदेखि प्रतिनिधि सभामा सांसदहरुले सेयर बजारका कुरा उठाउन थालेका छन् । नेकपा एमाले नेता तथा सांसद योगेश भट्टराइले सेयर बजार घटेको र त्यसबाट धेरै लगानीकर्ता पीडित बन्दा पनि उपयुक्त कदम चाल्न नसकेको भनेर सरकारको आलोचना गरेपछि सेयर बजारका लगानीकर्ता उनीसँग प्रफुल्लित देखिएका छन् ।
१० महिनादेखि निरन्तर सेयर बजार घटिरहेको छ । ३१९८ विन्दूमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक अहिले २०४८ बिन्दूमा आइसकेको छ । यो बीचमा ११५० अंक घटिसकेको छ । कयौ लगानीकर्ताको घर खेत गइसकेको छ ।
३१९८ अंकबाट ओरालो लागेको सूचक २१ सयसम्म आउँदा कोही नेताले संसदमा कुरा उठाएनन । जब देश प्रतिनिधि सभाको चुनावतिर मोडिने बेला आयो त्यसपछि सेयर बजारका लगानीकर्ताको मन जित्न सांसदहरुले सेयर बजारको कुरा उठाउन थालेका छन ।
अहिले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडादेखि भट्टराईसम्मले सेयर बजारमा सुधार नआएसम्म अर्थतन्त्रमा कुनै सुधार नआउने बताउन थालेका छन् । जबकि, डा. खतिवडा सेयर बजारप्रति सबैभन्दा नकारात्मक टिप्पणी गर्ने व्यक्तिमा पर्छन् ।
उनी अर्थमन्त्री हुँदा जहिले पनि सेयर बजारलाई प्रभावित बनाउने नीति अंगिकार गरेका थिए । खतिवडा अर्थमन्त्री भएर आए पछि १८०० मा रहेको सूचक १ हजारसम्म झरेको थियो ।
एमालेभित्र विष्णु पौडललाई सेयर बजारले असल अर्थमन्त्रीको रुपमा लिने गरेको छ । त्यसबाहेक अन्य नेताहरुलाई सेयर बजारले पत्याएको छैन । तैपनि उनीहरु अहिले सेयर बजारप्रति सकारात्मक कुरा गर्न थालेका छन् ।
नजिकिँदै गरेको चुनावलाई लक्षित गरेर एमाले नेताहरुले सेयर बजारको कुरा संसदमा उठाएको लगानीकर्ताको बुझाइ छ । नत्रभने बारम्बार सेयर लगानीकर्ताले नीतिगत तबरबाट बजार घटाइयो भन्दा कोही नेताले उनीहरुको सुनुवाई गरेका थिएनन् ।
दोस्रो बजारमा झण्डै १५ लाख लगानीकर्ता छन् । जो सक्रिय सेयर कारोबारी पनि हुन् । डिम्याट खोल्नेको संख्या ५१ लाख माथि छन् । यही संख्यालाई आफ्नो पक्षमा पार्न नेताहरु जुटिरहेको देखिन्छ ।
लामो समयदेखि सेयर बजारका समस्या समाधान गर्न कुनै पहलकदमी नलिएको सरकार पनि अहिले सक्रिय भएको छ । चुनावमा सत्ता गठबन्धनलाई गम्भीर धक्का लाग्ने देखिएपछि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई कार्यकक्षमा बोलाएर सेयर बजारका समस्या समाधान गर्न नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा कमिटी बनाइएको छ । कार्यकारी निर्देशक गिरी केहीभित्रै बोर्डबाट अवकास पाउँदैछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि सेयर लगानीकर्ताको गुनासा सुन्न तयार मात्रै देखिएनन्, गभर्नर महाप्रसाद अधिकारीलाई त्यहीबाट फोन गरेर लगानीकर्ताको समस्या सुनिदिन निर्देशन दिए ।
पछिल्ला केही दिनयता सेयर बजारका विषयमा नेताको सक्रियता केवल चुनावलक्षित मात्रै देखिन्छ । उनीहरु सेयर बजारलाई सुधार्न भन्दा पनि भोट फकाउन संदनमा उठाएको देखिन्छ ।