काठमाडौं । मुलुकमा वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउने पहिलो कम्पनी आईएमई (इन्टरनेसनल मनी एक्सप्रेस) लिमिटेडले २२ वर्ष पूरा गरेको छ । २२ वर्षे यात्रामा आईएमई पहिलो मात्र होइन देशकै ठूलो र धेरै रेमिट्यान्स भित्राउने कम्पनी बनेको छ । आईएमईले आफूलाई एक नम्बरमा राखिरहेको छ ।
विदेशबाट नेपाल आउने कुल रेमिट्यान्सको २२ प्रतिशतभन्दा बढी रकम आईएमई एक्लैले भित्राउँछ । संसारभर आफ्नो नेटवर्क बिछ्याएको आईएमईले मुलुकभित्र हरेक गाउँमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।
यसलाई स्थापना गर्ने संस्थापकद्धय चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको दर्जनौं व्यवसाय र कम्पनी भए पनि आईएमईले दुई भाइलाई ‘व्यावसायिक विरासत’मा चिनाइरहेको छ ।
सन् २००१ अघि मुलुकमा तीव्र रुपमा हुण्डीमार्फत विदेशबाट नेपालमा पैसा आउने गर्थ्याे । कामको खोजीमा वैधानिक र अवैधानिक बाटो हुँदै विदेश पुगेका नेपालीहरुले आफ्नो परिवारलाई पैसा पठाउने त्यो बेलाको पहिलो माध्यम हुण्डी नै थियो । हुण्डीको रजगज चलिरहेको बेला नेपाल राष्ट्र बैंक पनि चिन्तित थियो ।
ढकाल दाजुभाइले सन् २००१ मा रेमिट्यान्स कम्पनी स्थापना गर्नका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए । राष्ट्र बैंकका अधिकारीहरुले नयाँ संरचना बनाउँदै आइएमईलाई रेमिट्यान्स ल्याउन स्वीकृत दिए । त्यसपछि स्थापना भयो, मुलुकको पहिलो रेमिट्यान्स कम्पनी-आईएमई लिमिटेड ।
वैदेशिक रोजगारीका लागि मलेसिया, खाडी मुलुक मात्र होइन युरोप, जापान र अमेरिकासम्म पुगेका नेपालीले गर्दा आज आईएमई नेपालको सर्वाधिक भ्यालू र ब्रान्ड भएको कम्पनी बनेको छ । रेमिट्यान्सकै कारण कुनै न कुनै माध्यममार्फत प्रत्येक नेपालीको घरमा छिरेको छ, आइएमई ।
वाणिज्य बैंकमा जागिरे रहेका चन्द्रप्रसाद ढकाल २०४८ सालपछि सरकारी जागिरे हुँदै कोल्डस्टोर व्यवसायमा छिरेका थिए । त्यसपछि उनले सुरु गरे अर्काे व्यवसाय कार्गाे । त्यो बेला नेपाली पोसाकसहित विभिन्न अन्य तयारी वस्तु विदेशमा राम्रो बजार लिइरहेको थियो ।
ढकालले आफ्नो कार्गाे व्यवसायलाई फैलाउने उद्देश्यले अमेरिका जाने निर्णय गरेका थिए । तर, एक नजिकका साथीले जापान बोलाएर उतैबाट अमेरिका जाने योजना बनाएका ढकाल जापानमै १० महिना बसे । त्यही काम गरे । पछि उनका भाइ हेमराज ढकाल पनि काम र व्यवसायकै लागि जापान पुगे ।
जापानमा त्यो बेला नेपालीहरुले राम्रै काम गरिरहेका थिए । पैसा कमाइरहेका थिए । होटल र रेष्टुरेन्टमा लगानी गर्दै थिए । तर, त्यहाँ कमाएको पैसा नेपाल पठाउने माध्यम भने झन्झटिलो थियो । त्यो प्रक्रिया नजिकबाट नियालिरहेका चन्द्र ढकाललाई रेमिट्यान्सको खास आइडिया त्यहीं फुर्यो ।
सन् २००१ म सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया खुला गरेसँगै कामको खोजीमा धेरै नेपाली मलेसिया पुगे । तर, नेपालीले मलेसियामा कमाएको पैसा नेपाल भित्राउने कानुनी माध्यम थिएन । ढकालको जापान बसाईंको अनुभव र मलेसियामा पुगेका नेपालीको समस्यालाई टेकेर खडा गरेको आइएमई आजको दिनमा २२ वर्षको यात्रा गरेको छ ।
आईएमईले यो बीचमा यति व्यापकता ल्यायो कि विदेशका जुनसुकै कम्पनीबाट पैसा पठाए पनि आईइएमई गरेको छु भन्ने भाष्य स्थापितसमेत गर्यो ।
यस्तो छ आईएमईको टाइमलाइन
राष्ट्र बैंकबाट सन् २००१ मा लाइसेन्स लिएर आईएमई रेमिट्यान्स सुरु भयो । एक वर्षपछि कम्पनीले मलेसियाको केन्द्रीय बैंकसँग लाइसेन्स लिएर मलेसियामा आफ्नो कम्पनी स्थापना गर्यो । सन् २००३ मा कम्पनीले बेलायतमा आफ्नो कार्यालय खोल्यो ।
सन् २००४ मा कम्पनीले आइएमई नाममै फाइनान्स कम्पनी स्थापना गर्यो । सोही वर्ष कम्पनीले अष्ट्रेलियामा पनि आफ्नो कार्यालय स्थापना गर्यो । सन् २००७ मा आइएमई मलेसियामार्फत इन्डोनेशिया, बंगलादेश, श्रीलंका, फिलिपिन्स र भियतनाममा आफ्नो नेटवर्क स्थापना गर्यो ।
त्यसको एक वर्षपछि कम्पनीले आइएमई नामबाट नै उत्पादनमुलुक क्षेत्रमा हात हाल्यो । कम्पनीले अक्सिजन उद्योग स्थापना गर््यो । त्यस्तै सोही वर्ष इलाइट क्यापिटल मर्चेन्ट बैकिड कम्पनी स्थापना गर्यो ।
सन् २००९ मा आईएमई मलेसियाको ५० बढी आउटलेटमा फैलियो । सोही वर्ष नेपालमा आइएमई फाउण्डेशको स्थापना भयो । अर्काे वर्ष कम्पनीले मलेसियामा आफ्नो आउटलेटलाई ७० मा पुर्यायो । सन् २०११ म अमेरिकामा आईएमईको कार्यालय स्थापना भयो ।
सन् २०१३ सम्म आइपुग्दा सरकारले आईएमईलाई नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी घोषणा गर्दै सम्मान गरिसकेको थियो । त्यस्तै कम्पनीले सन् २०१४ मा रेमिट्यान्स कम्पनीतर्फ सबैभन्दा बढि कर तिर्ने सम्मान पाइसकेको थियो ।
सन् २०१५ मा आइएमई मलेसियाले विश्वको तेस्रो ठूलो रेमिट्यान्स कम्पनी रियासँग रणनीतिक साझेदारी गर्यो । सोही वर्ष नेपालमा दोस्रो पटक धेरै कर तिरेर सम्मानित भयो भने आईएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसनको अर्काे कम्पनी खडा गर्यो ।
त्यस्तै सन् २०१६ मा फ्रस्ट एन्ड सलिभनबाट बेस्ट रेमिट्यान्स कम्पनीको अवार्ड लियो, सोही वर्ष सर्वाधिक कर तिरेको आधारमा लगातार तेस्रो वर्ष सरकारबाट सम्मानित भयो । त्यसैगरि सन् २०१७ मा आईएमई पेको डिजिटल वालेट सुरु गरेर मोबाइल वालेटमार्फत सिधैं रेमिट्यान्स पठाउने व्यवस्था कम्पनीले सुरु गर्यो ।
त्यसैगरी कम्पनीले सन् २०२० मा विश्वभरबाट नेपालमा रेमिट्यान्स पठाउन मनीग्रामसँग साझेदारी गर्यो । सोही वर्ष सबैभन्दा बढि कर तिर्ने व्यक्तिको पहिचानको प्रतीकका रुपमा समूहका अध्यक्ष ढकाललाई सीआईपी अवार्ड प्राप्त भयो भने सोहि वर्ष नै आईएमई पेले १ लाख युजरबाट एक लाख डाउनलोड प्राप्त गर्यो । त्यसैगरी सरकारबाट लगातार चौथोपटक सर्वाधिक कर तिरेको आधारमा सम्मानित भयो ।
५ हजारभन्दा बढी जनशक्तिको साथ रहेको आईएमई विश्वका २ सय मुलुकमा १० लाखभन्दा बढी नेटवर्कहरुबाट नेपालमा रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ ।
ढकालले स्थापना गरेको आईएमई ग्रुप अहिले विशाल बनेको छ । आइएमई ग्रुपले बैंक, बिमा, जलविद्युत र पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको छ । ग्रुपले ७ वटै प्रदेशमा केबलकार सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेको छ ।
रेमिट्यान्स भित्र्याउनमा जस्तै बैंक तथा वित्तीय संस्थाको मर्जर चन्द्र ढकाल सबैभन्दा अघि छन् । उनले डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई ग्लोबल आइएमई बैंकमा मर्ज गराएर देशकै ठूलो वाणिज्य बैंक बनाएका छन् । राष्ट्र बैंकले लिएको मर्जर नीतिलाई ढकालले ठूलो सहयोग गरेका छन ।