काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुर्याएको १ वर्षसम्म पनि स्थायी संरचनाको पुनर्निर्माण थाल्ने समय निश्चित हुन सकेको छैन । दाता एसियाली विकास बैंक (एडीबी)ले भौगर्भिक अध्ययनको जिम्मेवारी लिए पनि अध्ययन प्रतिवेदन नबुझाउँदा स्थायी पुनर्निर्माणको मिति तय हुननसकेको खानेपानी मन्त्रालयले जनाएको छ ।
एडीबीले गत नोभेम्बरबाट २ चरणमा मेलम्चीको भौगर्भिक अध्ययन सुरु गरेको थियो । हालसम्म पहिलो चरणको मात्रै अध्ययन सम्पन्न भएकाले मेलम्चीको स्थायी संरचनाको पुनर्निर्माण अनिश्चित बनेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता ज्ञानप्रसाद ढकालका अनुसार भौगर्भिक अध्ययनको रिपोर्ट नआएसम्म मेलम्चीको स्थायी पुनर्निर्माण सुरु हुन सक्दैन । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘एडीबीको रिपोर्ट नआइ पुनर्निर्माण अगाडि बढाउन मिल्दैन, एक चरणको रिपोर्ट दिएको छ । तर, त्यसको आधारमा मात्रै काम गर्न मिल्दैन, फाइनल रिपोर्ट आउँनुपर्छ ।’
पहिलो चरणको अध्ययनमा पहिरो जानुको कारण र संरचना वरिपरि अन्य ठाउँमा पहिरोको सम्भावना पत्ता लगाउने बताइएको छ । जसको ड्राफ्ट रिपोर्ट एडीबीले वैशाखमा मन्त्रालयलाई बुझाइ सकेको छ ।
दोस्रो चरणको रिपोर्टले आयोजनाको हेडवक्समा पुर्याएको क्षति र पुनःसञ्चालनको विषयमा अध्ययन गर्ने एडीबीले जनाएको छ । तर, उक्त अध्ययन भने मनसुन सकिएपछि मात्रै सुरु गर्ने तयारी एडीबीको छ ।
जेठ १८ गतेबाट सुरु भएको मनसुन नेपालबाट बाहिरिने समय अहिले नै भन्न सक्ने अवस्था रहदैन । नेपालबाट मनसुन बाहिरिन असोज/ कात्तिकसम्म लाग्ने गर्छ ।
एडीबीले डिसेम्बरमा अन्तिम रिपोर्ट बुझाउने
पहिलो चरणको रिपोर्ट वैशाखका बुझाएको एडीबीले अन्तिम रिपोर्ट डिसेम्बरसम्म बुझाउने तयारी गरेको छ । हाल मनसुन सक्रिय भएकाले दोस्रो चरणको अध्ययन गर्न सम्भव नहुने उसको भनाइ छ ।
अहिले एडीबीले पहिलो चरणको रिपोर्ट विभिन्न निकायमा पठाएको छ । उक्त रिपोर्ट अध्ययन गरेर प्रतिक्रिया दिन पनि आग्रह गरिएको एडीबीले जनाएको छ ।
गत नोभेम्वरबाट भौगर्भिक अध्ययन सुरु गरे पनि बीचमा कोभिडको संक्रमण र अस्थायी पुनर्निर्माणको काम हुँदा अध्ययनमा असर परेको छ ।
एडिबीको अध्ययन रिपोर्ट नआउँदा आयोजनामा बाढी गएको १ वर्षसम्म पनि मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । २ जना विदेशी र ६ जना स्वदेशी गरी ८ जनाको विज्ञ टोलीले मेलम्चीको भौगभिर्क अध्ययन गरिरहेको छ ।
मेलम्चीको पानी २०७७ साल फागुनमा पहिलो पटक काठमाडौं आएको थियो । तर, २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको बाढीले आयोजनामा क्षति पुर्याएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन समस्या सिर्जना भएको छ ।
२०७८ माघबाट अस्थायी रुपमा पुनर्निर्माण सुरु गरी २०७९ वैशाख ११ गते काठमाडौंमा पुन पानी ल्याएको थियो । तर, अस्थायी रुपमा मर्मत गरिएकाले मनसुन सुरुभएसँगै जेठ १८ गतेबाट लगभग कात्तिकसम्मको लागि फेरि मेलम्चीको पानी बन्द गरिएको छ । खोलामा धमिलो पानी आएपछि प्राविधिक रुपमा सुरुङमा पानी हाल्न नमिल्ने हुँदा बन्द गरिएको आयोजनाले जनाएको छ ।