काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच एक–आपसमा गाभिन (मर्ज) मा जान प्रारम्भीक समझदारीपत्र (एमओयू) गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंकको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका छन्।
मर्जपश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकिकृत बैंकिङ कारोबार हुने छ । मर्जपछि नेपाल इन्भेष्टमेन्ट मेगा पुँजीगत आधारमा देशको सबैभन्दा ठूलो बैंक बन्ने छ ।
यसअघि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभेर चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो बैंकको रुपमा आफुलाई उभाएको थियो । ग्लोबलले जनतालाई गाभे पश्चात ग्लोबलको चुक्ता पुँजी करिव २४ अर्ब रुपैयाँ छ । इन्भेस्टमेन्टको १ सय बराबर मेगाको ९० रुपैयाँ सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्ज हुने भएको हो ।
एकिकृत बैंकको अध्यक्षमा पाँडे तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेपाल इन्भेष्टमेन्टबाट ज्योतिप्रकाश पाण्डे र डेपुटी सीईओमा मेगा बैंकबाट रविना देशराज श्रेष्ठ हुने भएका छन् ।
हाल नेपाल इन्भेष्टमेन्टको चुक्ता पुँजी १८ अर्ब ३१ करोड रुपैयाँ छ । यस्तै मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी छ । मर्जपश्चात बन्ने नेपाल इनभेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ पुग्ने छ ।
नेपाल इन्भेष्टमेन्टको सञ्चित कोष (रिजर्भ) १४ अर्ब ८२ करोड रुपैयाँ छ । यस्तै मेगाको रिजर्भ ५ अर्ब ९२ करोड रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्टको निक्षेप १ खर्ब ८२ अर्ब र मेगाको १ खर्ब ५२ अर्ब रुपैयाँ छ ।
नेपाल इन्भेष्टमेन्टको कर्जा १ खर्ब ७३ अर्ब ४६ करोड र मेगाको १ खर्ब ५० अर्ब ४६ करोड रुपैयाँ छ । चुक्ता पुँजी, जगेडा कोष निक्षेप र कर्जा लगानीमा पनि सबैभन्दा ठूलो बैंक हुने छ ।
चालू आर्थिक वर्ष ०७८/०७९ को तेस्रो त्रैमासम्ममा मेगा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुदनाफा गरेको छ । इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुदनाफा छ ।
बैंकहरु एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।
दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सवल एवम सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई उत्कष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास प्रतिवद्धताका साथ मर्जर कार्यमा लागेको दुवै बैंकका अध्यक्षहरुले जानकारी गराएका थिए ।
यसअघि नेपाल इन्भेष्टमेन्ट हिमालयन बैंक मर्जमा जान एमओयू भएको थियो । हिमालयन बैंकका सञ्चालकबीचको विवादले मर्ज तोडिएपछि राष्ट्र बैंकको कारवाहीमा परेको छ ।
बैंकले अन्य कुनै सँस्थालाई गाभेपछि मात्रै बैंक केन्द्रीय बैंकको काराहीबाट मुक्त गर्नेछ । हिमालयनले मर्जको प्रक्रिया सुरु गरेको छैन । यस्तै नबिल बैंक र नेपाल बंगलादेश बैंकले पनि मर्जमा जान एमओयू गरेका छन् ।