काठमाडौं । सुदुरपश्चिम प्रदेशमा कुल ५२ मेगावाट मात्र बिजुली उत्पादन भएको छ । राष्ट्रिय प्रणालीमा २३०० मेगावाट पुगेका बेला प्रदेशको योगदान ५२ मेगावाट मात्रै रहेको छ ।
यस प्रदेशको दार्चुला जिल्लामा अपी पावर कम्पनीको ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना, ८ मेगावाटको अपर नौगाड साना जलविद्युत आयोजना र ३० मेगावाटको चमेलिया आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ ।
यस्तै अपीको ४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना निर्माणको चरणमा रहेका छ । निजी लगानीमा निर्माणाधीन बझाङ जिल्लामा रहेको कालंगा नदीबाट कुल ३ वटा परियोजनामार्फत करीब ७० मेगावाट विद्युत उत्पादन हुने क्रममा रहेको छ ।
यस पदेशमा रहेका महाकाली, सेती, चमेलिया, बुढीगंगा, कालंगा लगायतका नदीहरुबाट प्रशस्त मात्रामा जलविद्युल उत्पादन गर्न सकिने सम्भावना रहेका छ ।
महाकाली नदीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट करीब ५ हजार ४० मेगावाट तथा पश्चिम सेती जलविद्युत आयोजनाबाट ७५० मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।
यी आयोजनाहरु बनेमा समग्र सुदूरपश्चिम प्रदेश लगायत देशभरिमा रहेको विद्युत समस्या समाधान हुनुका साथै विद्युत निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना रहेको छ । २०७८ फागुन सम्ममा राष्ट्रियरुपमा विद्युत् पहुँच पुगेको जनसंख्या ९४ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशमा ७१.०७ प्रतिशत मात्र छ ।