काठमाडौं । बजेटमार्फत जीआई वायरको भन्सार र अन्तःशुल्क बढाइएपछि भोलिपल्टै अर्थमन्त्री जनार्दन शर्मालाई भेट्न पुगेका व्यवसायीको कुनै पनि गुनासो सुन्न चाहेनन् । बरु उनले नेपाली कम्पनीबाटै जीआई वायर बनाउने कच्चापदार्थ किन्न सुझाएका थिए ।
अर्थमन्त्रीले व्यवसायीको कुरा नसुनेपछि बालुवाटारस्थित प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गुनासो गरेको र देउवाले अर्थमन्त्रीलाई तत्काल जीआई वायरको भन्सार र अन्तःशुल्क घटाउन निर्देशन दिएपछि अर्थमन्त्री पछि हटेका हुन् ।
यसअघि व्यवसायीका कुरासमेत सुन्न नमानेका अर्थमन्त्री शुक्रबार उनैको सचिवालयले व्यवसायीलाई छलफलका लागि बोलाएका थिए । ‘अर्थमन्त्रीको सचिवालयबाट छलफलका लागि बोलाइएको थियो,’ उद्योगपति शिवरतन शारडाले भने, ‘आजको छलफलमा अर्थमन्त्री शर्माले कच्चा पदार्थमा अन्तःशुल्क नलगाई तयारी वस्तुमा लगाउने र जीआई वायरको कच्चा पदार्थको भन्सार घटाउन सहमत हुनुभएको छ ।’
संसद्बाट बजेट पास भएको भोलिपल्ट यसलाई सच्याउने अर्थमन्त्री शर्माले प्रतिबद्धता जनाएका शारडाले बताए ।
अर्थमन्त्रीले सञ्चालनमै नआएको कम्पनीलाई संरक्षण गर्न अन्तःशुल्क र भन्सार बढाएका थिए । त्यही गुनासो गर्न अर्थमन्त्रीसामु व्यवसायी मन्त्रालय गएका थिए । तर, उनीहरुको गुनासो नसुनेपछि प्रधानमन्त्री देउवासमक्ष आफूहरू जानुपरेको शारडाको भनाइ छ ।
चालू आर्थिक वर्षको प्रतिस्थापन बजेटमार्फत बिलेटको भन्सार दर शून्यमा झारिदिएर दर्जनौं उद्योग संकटतर्फ धकेलेका अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा जीआई वायरको भन्सार र अन्तःशुल्क बढाएर भइरहेका उद्योगको भविष्यमाथि खेलवाड गरेका थिए ।
जीआई वायरको तयारी वस्तु आयात गर्दा अन्तःशुल्क छैन । तर, कच्चा पदार्थ आयात गर्दा अन्तशुल्क लाग्ने व्यवस्था अर्थमन्त्री शर्माले बजेटमार्फत गरिदिएका थिए ।
नेपाल सरकारका विगतका व्यवस्था र भारतको पछिल्लो नीतिबाट प्रभावित बनेका जीआई वायर उत्पादन गर्ने उद्योगहरु धरापमा पर्न गएको उनीहरुको ठहर थियाे । जीआई वायर उद्योगलाई चाहिने कच्चा पदार्थ एमएस वायर रड (७२१३.९१.१०) आयातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको र स्वदेशी उद्योग बचाउन थप सहुलियतको आवश्यकता रहेको सरकारलाई जानकारीसमेत गराएका थिए ।
तर, सरकारले त्यस्ता वस्तुको कच्चा पदार्थ आयात गर्दा लाग्दै आएको ५ प्रतिशत भन्सारलाई बढाएर १० प्रतिशत पुर्याएको र अन्तःशुल्क पनि २५ सयबाट बढाएर ४५ सय प्रतिटन पुर्याएको प्रतिआपत्ति जनाएका थिए ।
जीआई वायर प्रयोजनार्थ चाहिने उच्चकोटीको एमएस वायर रड नेपालमा कसैले पनि उत्पादन नगरेको र आगामी दिनमा उत्पादन गर्ने भनी त्यस्ता काल्पनिक उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थमा १ प्रतिशत भन्सार शुल्क अन्तःशुल्क छुट, विद्युतमा १५ प्रतिशतसम्म छुट दिई वर्षौंदेखि सञ्चालनमा रहेका जीआई वायर र ग्याभिन उद्योग धरासायी पार्ने काम भएको उद्योगीहरुको भनाइ छ ।