काठमाडौं । हवाई सुरक्षा व्यवस्थापनमा अन्तर्राष्ट्रियतर्फ हिमालय एयरलाइन्स सबैभन्दा अगाडी देखिएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा आन्तरिकतर्फ स्टलमा समिट र टंकमा यति एयरलाइन्स अगाडी देखिएको हो ।
मन्त्रालयले गठन गरेको समितिले नेपालमा दर्ता भई सञ्चालनमा रहेका १० वटा ‘फिक्ड विङ्स’ वायुसेवा कम्पनी र १० वटा हेलिकप्टर कम्पनीको अध्ययन गरेको थियो ।
अध्ययन समितिको प्रतिवेदनअनुसार सबैभन्दा अगाडि हिमालय एयरलाइन्स ९८.७, दोस्रोमा समिट एयर ९८.१ र तेस्रो स्थानमा यति एयरलाइन्सको ९७.९ प्रतिशत रहेको देखाएको छ । सन २०१८/०१९ को तुलनामा २०२१ सम्म आइपुग्दा नेपाल एयरलाइन्स, बुद्ध एयर, सीता एयर र तारा एयरको कार्यान्वयन दर खच्किएको उल्लेख छ ।
मन्त्रालयले २०७८ असोज १३ गते समिति बनाएर अध्ययन गरेको थियो । समितिमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजक, उपसचिव प्रमोद नेपाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णविक्रम पौडेल सदस्य रहेका थिए भने सदस्य सचिव प्राधिकरणका प्रवन्धक लक्ष्मण देवकोटा थिए ।
पर्याप्त संख्यामा जनशक्ति विकास गर्न नसक्नु तर हेलिकप्टर कम्पनीको संख्या थप हुँदै जानुले हवाइ सुरक्षा व्यवस्थापनका आगामी दिन चुनौतीपूर्ण हुने देखिएको जनाएको छ । जहाज कम्पनी र हेलिकप्टरबीच प्रति वायुयान जनशक्तिको अवस्था तुलना गर्दा हेलिकप्टरको अवस्था कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तो छ सन २०२१ मा सुरक्षा व्यवस्थापन कार्यान्वयन दर
हिमालय एयरलाइन्स: ८७ प्रतिशत (२०२० मा ८३ प्रतिशत)
समिट एयर: ८१ प्रतिशत (२०२० मा ६८ प्रतिशत)
यती एयर:७९ प्रतिशत (२०२०मा ७४ प्रतिशत)
बुद्ध एयर: ७४ प्रतिशत (२०२० मा ७९ प्रतिशत)
सौर्य एयर: ६७ प्रतिशत (२०२० मा ६७ प्रतिशत)
नेपाल एयरलाइन्स: ६४ प्रतिशत (२०२० मा ७७ प्रतिशत)
गुण एयरलाइन्स: ६४ प्रतिशत (२०२० मा ६४ प्रतिशत)
श्री एयरलाइन्स: ६४ प्रतिशत (२०२० मा ६४ प्रतिशत)
तारा एयर:६४ प्रतिशत (२०२० मा ७७ प्रतिशत)
सीता एयर: ४३ प्रतिशत (२०२० मा ६३ प्रतिशत)
धेरै दुर्घटना पहाडमा ठोक्किएर
हालसम्म भएका दुर्घटनाहरु मध्ये एक तिहाई पहाडमा ठोक्किएर भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले सन् २०११ देखि २०२० सम्म भएका ३५ वटा दुर्घटनाको अध्ययनमा ५० प्रतिशत धावनमार्गबाट बाहिर गएर, ३३ प्रतिशत पहाडमा ठोक्किएर र १७ प्रतिशत दुर्घटना उड्दा उड्दै नियन्त्रण गुमाएर भएको देखिएको जनाएको छ । दुर्घटनामध्ये धेरै मानवीय क्षति पहाडमा ठोक्किएर हुने दुर्घटनामा भएको छ ।