काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको छ।
यसअघि जेठ १९ गते मात्र आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दस रूपैयाँ घटाएको थियो।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ।
एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ छ।
निगमका अनुसार बिहीबार तोकिएको मूल्यअनुसार पनि आगामी १५ दिनमा करिब तीन अर्ब १ करोड ४२ लाख रूपैयाँ घाटा हुने देखिएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २४.७९ रूपैयाँ र डिजेलमा १८.०१ रूपैयाँ घाटा छ। निगमको पेट्रोल खरिद लागत भने २०२.७० रूपैयाँ र डिजेलको १८३.०१ रूपैयाँ छ।
त्यस्तै प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई ७५१.१४ रूपैयाँ घाटा हुने निगमले जनाएको छ। ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ छ।
अहिले मट्टीतेलको खरिद लागत १४७.९९ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फको १४८.६६ रूपैयाँ र बाह्यतर्फको १२७.८५ रूपैयाँ रहेको निगमले जनाएको छ।
निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा लिटरको १७.०१ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १७.३४ रूपैयाँ र बाह्यतर्फ ६४.५५ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।