काठमाडाैं । मंगलबार र बुधबार प्रहरी परिचालन गरी काठमाडौंको फोहोर बन्चरेडाँडामा फालेपछि सिर्जित विवाद सल्टाउन सरकार र आन्दोलनरत समूहबीच अन्ततः शुक्रबार वार्ता हुने भएको छ।
वार्तामा सरकारका तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महतलगायत सहभागी हुने भएका छन् ।
सहरी विकास मन्त्रालयले सोमबार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई राखेर फोहोर फाल्ने सम्झौता गरेको थियो । तर, सम्झौतामा हस्ताक्षर गर्दा आफूहरूलाई नराखिएकाे भन्दै स्थास्थानीले काठमाडाैंबाट फाेहाेर बाेकेर गएका ट्रक प्रवेशमा अवराेध सिर्जना गरेका थिए । जसकारण सरकारले प्रहरी परिचालन गरेर मंगलबार डेढ सयभन्दा बढी ट्रक फोहोर फालेको थियो ।
यद्यपि बुधबार स्थानीयको प्रतिकारपछि फोहोर लिएका गएका गाडीहरू त्यसै फर्किएका थिए।
स्थिति असामान्य बन्दै गएपछि सहरी विकास मन्त्रालयले बन्चरेडाँडा संघर्ष समिति र वडाका प्रतिनिधिसमेतलाई राखेर शुक्रबार वार्ता गर्ने भएकाे हाे ।
वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ,धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र बन्चरेडाँडा डम्पिङ साइट आयोजना प्रमुख रविन्द्र बोहोरालगायत ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा धुनिबेसी नगरपालिका वडा नम्बर १, ३ र ४ का वडाध्यक्ष सहभागी हुनेछन् ।
वार्ता बिहान ८ बजे मन्त्रालयमा हुनेछ ।