काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक १७.५८ अंकले घटेर २ हजार ६२ बिन्दुमा रोकिएको छ ।
बुधबार सेयर बजार सूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको थियो । बिहीबार भने नेप्से परिसूचक २ हजार ६२ बिन्दुमा झरेको छ ।
बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत गिरावट आएको छ । बुधबार १ अर्ब ६४ करोडको कारोबार भएको बजारमा बिहीबार १ अर्ब ४७ करोडमा सीमित भएको छ ।
सेयर बजारका लगानीकर्ताको मागलाई सुनुवाइ गरेर सोहीअनुसार नीति लिन प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई भनेको र अर्थमन्त्री गभर्नरबीच बजारमा देखिएका समस्या समाधान गर्न समिति गठन भएपछि बुधबार बजार उच्च अंकले बढेको थियो ।
एकातिर राष्ट्र बैंकले पुँजी बजार समस्या समाधान गर्न समिति गठन गरेको छ भने अर्कोतर्फ लगानीकर्ता माइतीघर नारा जुलुस लगाइरहेका छन् । ४/१२ लगायतका नीति तत्काल खारेजीको माग गर्दै लगानीकर्ताले नारा, जुलुसमा जुटिरहेका छन् । मैद्रिक नीतिले आगामी बजारको बाटो तय गर्ने देखिन्छ । मौद्रिक नीतिमा बजारलाई केही समस्या सम्बोधन भए मात्र बजारले लय लिने विश्लेषक बताउँछन् ।
यतिबेला अधिकांश कम्पनीहरुको सेयर अंकित मूल्यको दुई गुणा सम्म पुगेको छ । कम्पनीहरुको सेयरमूल्य न्यून आइपुग्दा अब भने बजारले मौद्रिक नीतिसम्म बजार दुई हजारको वरीपरि रहने देखिन्छ ।
नेप्सेमा बिहीबार २२९ कम्पनीको ४१ लाख ५६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यस दिन हालै आईपीओ जारी गरेका दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर र सिंगटी हाइड्रोलगायतका कम्पनीको सेयरमूल्यमा उच्च गिरावट देखिएको छ । यस दिन कुमारी बैंकको सर्वाधिक ६ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।