काठमाडौं । पुँजी बजारका सम्पूर्ण निकायहरूलाई समेटेर स्टक ब्रोकर एसोसिएसन अफ नेपाल ‘एसबीएएन’ले ‘एसबीएएन क्यापिटल मार्केट कप २०२२’ को आयोजना गर्ने भएको छ ।
एसबीएएनले ‘फुटसल फोर युनिटी’ को नारासँगै नेपालमै पहिलो पटक पुँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायहरूलाई समेटी ‘एसबीएएन क्यापिटल मार्केट कप २०२२’ को आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगिता चण्डोलस्थित ढुकु फुट्सल हबमा यही जेठ २८ गते शनिबारदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता चार दिनसम्म सञ्चालन हुने एसबीएएन’ले जनाएको छ । कार्यक्रमको व्यवस्थापन इभेन्ट कोर्ट प्राइभेट लिमिटेडले गर्नेछ ।
प्रतियोगितामा सेबोन, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ एजेन्सि, निक्षेप सदस्यलगायत अन्य पुँजी बजारसँग सम्बन्धित ३६ निकायका टिमको सहभागिता रहने एसबीएएनले जनाएको छ ।
एसीबएएनका अनुसार प्रतियोगितालाई पारदर्शी बनाउन तथा यसको प्राविधिक पक्षको उचित सञ्चालनका लागि एन्फाद्वारा प्रमाणित रेफरीहरूमा सम्पूर्ण खेलहरूको नियन्त्रण रहनेछ ।
प्रतियोगितामा बैंकिङ पार्टनरका रूपमा ग्लोबल आईएमई बैंक, मिडिया पार्टनर मेरो लगानी डट कम र वेब पार्टनरमा गोल नेपाल डट कम रहेको एसबीएएनले जनाएको छ ।
एसबीएएनका अनुसार प्रतियोगितामा जर्सि नेपाल पसल तथा बेन्चवार्मर्स नेपालको पनि सहयोग रहने छ । धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरू तथा तीनमा कार्यरत कर्मचारीहरू बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने एसबीएएनले जनाएको छ ।