काठमाडौं । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ गरी ३ वटा व्यावसायिक संस्था र मोरङ जिल्ला प्रशासन कार्यलयबीच स्यानिटरी प्याड, घिउतेल र एमएस वायर रडमा आधारित वस्तु आयातमा भन्सार बढाउने सहमति भएको छ ।
बिहीबार ३ वटै संगठनका प्रतिनिधि, मोरङका प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालय प्रमुख, कांग्रेस, माओवादी, फोरम र एमाले निकटका ४ वटा ट्रेड युनियनलगायत सुरक्षाकर्मीका प्रतिनिधिसहित बसेको बैठकले भन्सार बढाउने निष्कर्ष निकालेको हो ।
नेपाल उद्योग परिसंघ प्रदेश नं. (सीएनआई)का अध्यक्ष भिम घिमिरेका अनुसार उक्त ३ उद्योगसँग सम्बन्धित तयारी सामान र कच्चापदार्थ आयात गर्दा कम्तीमा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म भन्सार फरक गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाउने सहमति भएको छ ।
‘आजको छलफलले भन्सारको निश्चित प्रतिशत तोकेको छैन तर, कच्चा पदार्थ र तयारी दुवै सामान आयातमा एक स्ल्याब अर्थात् कम्तीमा पनि ५ प्रतिशतदेखि १० प्रतिशत भन्सार फरक हुने गरी निर्धारण गर्ने प्रस्ताव अर्थमा पठाउने तयारी गरेको छ’ सीएनआईका अध्यक्ष घिमिरेले भने ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा स्यानिटरी प्याड, घिउतेल र एमएस वायर रडमा आधारित वस्तु उत्पादनभन्दा आयात सस्तो पर्ने गरी भन्सार निर्धारण गरेको उद्योगीहरुको भनाइ छ । विदेशबाट कम मूल्यमा कच्चा वस्तु तथा तयारी सामान आयात भएपछि स्वदेशि उलेगले प्रतिस्पर्धा गर्न नसक्नेभन्दै मोरङका उद्योग संगठनहरुले चक्का जामको घोषणा गरेका थिए ।
तर, प्रदेश सरकारको प्रतिनिधित्व गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीले वार्तामा बस्न पत्र पठाएपछि बिहीबार गर्न लागिएको चक्का जामसमेत स्थगित गरिएको अध्यक्ष घिमिरेले बताए ।
आज अर्थ मन्त्रालयको प्रतिक्रिया हेरेपछि मात्रै थप आन्दोलन र संघर्षका कार्यक्रमहरु गर्ने तयारी पनि संगठनहरुले गरेका छन् । सोहीअनुसार बाँकी आन्दोलनका कार्यक्रमको लागि शुक्रबार छलफल हुने उनको भनाइ छ । आज उनीहरूको छलफल २ घण्टाभन्दा बढी भएको बताइएको छ ।