तनहुँ । आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा परेका छन् । ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाको ड्यामले बस्ती डुबान र कटान गर्दै जाँदा त्यस क्षेत्रका बासिन्दाको उठिबास हुने अवस्था सिर्जना भएको हो ।
ड्यामले ऐलानी जग्गा मिच्दै आएर अहिले व्यक्तिकाे जग्गासमेत कटान गर्दा मानवबस्ती जोखिममा रहेको मर्स्याङ्दी जल उत्पन्न प्रकोप संघर्ष समितिका अध्यक्ष विष्णु पराजुलीले बताए ।
मानवीय क्षति हुने खतरा देखिएकाले जतिसक्दो चाँडो आयोजनाले आफूहरुलाई मुआब्जा दिएर सुरक्षित स्थानमा स्थान्तरण गर्न स्थानीयवासीले माग गरेका छन् । ड्यामका कारण आँबुखैरेनी–१ को ३६ रोपनी जमिन कटान गरेको उनीहरूको गुनासो छ ।
पर्खाल लगाइदिएर बस्ती सुरक्षित गरिदिन पटक–पटक आग्रह गरिए पनि आयोजनाले बेवास्ता गर्दै आएको समितिका अध्यक्ष पराजुलीले बताए ।
'वर्षायामको समयमा आएर ग्याबिन जाली भरेर झारा टार्ने काम भएको छ', उनले भने, 'समयमै उचित व्यवस्थापन नगरिए ठूलो मानवीय क्षति हुने सम्भावना देखिएको छ ।'
विसं २०७८ असार १ गते आएको अविरल वर्षाका कारण मर्स्याङ्दी ड्याम आसपास क्षेत्रका बस्तीमा क्षति पुर्याउँदा जोखिम बढ्दै गएको स्थानीय पीडित सुन्दरबहादुर बानियाँ बताउँछन् । बाढीले क्षति बनाएको थाहा पाएपछि गत वर्ष असार १५ गते आयोजनालाई जमिन संरक्षणका लागि जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलनको घोषणा गरिएको उनको भनाइ छ ।
'हाम्रा पीडामा सुनुवाइ नभए ड्याम खोल्न लगाएर विद्युत् उत्पादन बन्द गराउने, कर्मचारीलाई कार्यालय प्रवेशमा रोक, सडक आन्दोलनगायत कार्यक्रम गरिनेछ', उनले भने, 'ड्याममा यसअघि दुई बालकसहित ५ जनाले अकालमा ज्यान गुमाएका र अझै पनि त्यस्तो घटना हुन सक्ने वातावरण छ ।'
'बस्ती नै उच्च जोखिममा रहेकाले आयोजनाले जग्गा अधिग्रहण गरी मुआब्जाका लागि प्रक्रिया अघि बढाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पृथ्वीराजमार्गसँग जोडिने गरी जग्गा अधिग्रहण गरेर स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थान्तरणका लागि सम्बन्धित निकायमा परिपत्र गरिएको उनकाे भनाइ छ ।