काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले स्विट्जरल्यान्डको जेनेभामा सञ्चालित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११० औ अधिवेशनलाई सम्बोधन गरेका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै सभापति संघईले कोभिड महामारीबाट विश्व अर्थतन्त्रमा परेको प्रभाव, श्रमबजार, सामाजिक–आर्थिक क्षेत्रमा छिटोछिटो भइरहेको परिवर्तनका कारण अति कम विकसित मुलुकलाई शताब्दी विकासको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताए । साथै यसमा ठूला र सम्पन्न राष्ट्रहरूले साना राष्ट्रहरूलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
सम्पूर्ण विश्वले बहुआयामिक चुनौतीको सामना गर्नु परिरहेको सन्र्दभ उल्लेख गर्दै उनले अधिवेशनमा विस्तृत प्रतिवेदन प्रस्तुत गरेकामा अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
राष्ट्रहरूबीचको बढ्दो अन्तरनिर्भरताका कारण कुनै पनि भागमा उत्पन्न हुने घटना, अशान्ति, अस्थिरताले सम्पूर्ण विश्व नै प्रभावित हुने तथ्य उल्लेख गर्दै सभापति संघईले खाद्यान्न तथा इन्धनको सन्निकट विश्वव्यापी समस्यातर्फ ध्यानाकर्षण गराए ।
साथै उनले उक्त समस्या समाधानमा विश्व एकजुट हुनुुपर्नेमा जोड दिँदै यस्ता समस्याबाट विशेषगरी साना राष्ट्रहरू बढी प्रभावित हुनेमा चिन्ता व्यक्त गरे ।
स्थिरता र आपसी सहयोगको माध्यमबाट नै चुनौतीको सामना गर्न सकिने कुरामा जोड दिँदै परिषद्का सभापति संघईले साझा हितका लागि सहकार्य गर्न विश्व समुदायलाई आग्रह गरे ।
कोभिडविरुद्धको खोपबाट संक्रमण निकै घटन गएको भएपनि यो पूरै निर्मूल भई नसकेकाले सर्तक रहनुपर्नेमा जोड दिँदै उपाध्यक्ष संघईले कार्यशैली र कार्य वातावरणमा पछिल्लोपटक निकै धेरै परिवर्तन भइसकेकाले नयाँ वातावरणमा काम गर्न स्वास्थ्य उपचार, सामाजिक सुरक्षा र कार्यस्थल सुधारको आवश्यकता औंल्याए ।
कोभिड महामारीबाट भएको नोक्सानीको क्षतिपूर्ति एवं पुनरूत्थानतर्फ प्रयत्नशील रहेको अवस्थामा उच्च व्यापार घाटा, नकारात्मक शोधनान्तर स्थिति, न्यून लगानी एवं तरलता अभाव लगायतबाट नेपाली उद्योग व्यवसाय प्रभावित हुन पुुगेको जानकारी गराए ।
श्रम बजारको स्वरुपमा भइरहेको परिवर्तनले नयाँ सीपयुक्त जनशक्तिको माग बढिरहेको भन्दै काम गर्ने वातावरण र जनशक्तिको समायोजन गर्नुपर्ने आवश्यकताका साथै सूचना प्रविधिको बढदो प्रयोग र डिजिटल माध्यमबाट हुने कामले श्रम सम्बन्धमा परिवर्तन भईरहेको दाबी उनको थियो ।
‘विभिन्न चुनौती र समस्याका बाबजुद नेपालको निजी क्षेत्र आर्थिक वृद्धितर्फ उन्मुख छ’, उनले भने, ‘साना तथा मझौला उद्योगको प्रवद्र्धन, सामाजिक सुरक्षा, काम गर्ने वातावरणको सुधार, कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारको निवारण एवं केन्द्रदेखि प्रतिष्ठानस्तरसम्म सामाजिक संवादको प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखी काम भइरहेको छ ।’
अन्र्तराष्ट्रिय श्रम संगठनले निर्वाह गरिरहेको भूमिकाको सराहना गर्दै उपाध्यक्ष संघईले अन्तर्राष्ट्रिय श्रम संगठनको नयाँ रणनीतिसहित काम गर्ने र यसबाट सदस्य मुलुकले भोगिरहेका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षासमेत राखेका थिए ।