काठमाडौं । पछिल्लो समय विश्वप्रसिद्ध हस्पिटालिटी ग्रुपलाई नेपाल भित्र्याउने क्रम बढ्दो छ । नेपाल पर्यटकीय मुलुक भएका कारण पनि अन्तर्राष्ट्रिय ब्रान्डहरु आफैं यहाँ आउन इच्छुक बनिरहेका छन् । जसकारण नेपालमा एकपछि अर्को मल्टिनेसनल हस्पिटालिटी ब्रान्डहरुले नेपालका होटल तथा रिसोर्टहरुको व्यवस्थापन सम्हाल्दै आएका छन् ।
अन्तर्राष्ट्रिय रुपमा प्रख्यात ब्रान्डलाई आफ्नो व्यवसायको व्यवस्थापनको जिम्मेवारी दिएमा लगानी सुरक्षित हुने विश्वासका साथ पछिल्लो समय खुलेका अधिकाशं तारे होटलहरु र लक्जरियस रिसोर्टमा विदेशी ब्रान्डको प्रवेशको लहर चल्न थालेको छ ।
यसैबीच २ वर्ष अघिदेखि नै होटल व्यवस्थापनको जिम्मा लिएको थाइल्यान्डको मल्टिनेसनल हस्पिटालिटी कम्पनी ‘दुसित इन्टरनेसनल’ ले निर्माण गरिरहेको पाँचतारे होटल ‘दुसित प्रिन्सेस’ को काम अन्तिम चरणमा पुगेको छ ।
विश्वका विभिन्न देशमा सुविधा सम्पन्न होटल सञ्चालन गर्दै आएको दुसितले होटल ल्हासा इन्टरनेसनल प्रालिसँगको सहकार्यमा निर्माण गरिरहेको ‘दुसित प्रिन्सेस होटल’ सन् २०२० को पहिलो महिनामा सञ्चालनमा ल्याउने गरी सहमति गरेको थियो ।
तर, कोभिडका कारण २ वर्ष निर्माण सुस्त भएको सो होटलले अहिले भने तीव्र गतिमा संरचना निर्माण गरी यसै वर्षभित्र सञ्चालनमा ल्याउने तयारीमा लागेको छ ।
दुसितको नेपाल भित्रिएको यो दोस्रो ब्रान्ड हो । यसअघि दुसित थानी इन्टरनेसनलमार्फत दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा सञ्चालनमा ल्याउने गरी सम्झौता गरिसकेको छ भने साेहीअनुसार काम पनि चलिरहेको छ ।
कोभिडका कारण विश्वबजार नै ठप्प भएपछि सो होटलको पनि निर्माणकार्य समय रोकिएको थियो । बिस्तारै कोभिड संक्रमण न्यून हुँदै गएपछि भने होटलको कामले गति लिएको र २०२२ भित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको एक सञ्चालकले जानकारी दिए ।
‘कोभिडपछि बुम हुँदै गएको पर्यटन बजारलाई केन्द्रित गरेर होटल ओपनिङका लागि तयारी गरेका छौं’, ती सञ्चालकले भने ।
होटलमा १०८ कोठा रहनेछन् । विषेश गरेर विदेशी पर्यटकहरुलाई लक्षित गरी निर्माण भइरहेको सो होटल लक्जरियस हुनेछ । परम्परागत शैलीको इन्टेरियरमार्फत होटल सजावटको काम भइरहेको छ । बुद्धिस्ट कल्चरको झल्को दिने गरी होटलको भित्रि सजावट भइरहेको बताइएको छ ।
होटलमा दिनभर सञ्चालन हुने डाइनिङ रेस्टुरेन्ट, आउटडोर स्विमिङपुल र पुल बार सुविधा हुनेछ । त्यस्तै, रुफटप लन्ज बार, फिटनेस सेन्टर, स्पा र मिटिङका लागि उपयुक्त हल पनि रहनेछ ।
विगत ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेसनलको हाल १८ वटा देशहरुमा २९ वटा होटल तथा रिसोर्ट सञ्चालनमा छन् ।
कम्पनीले हाल अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेसिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की र यूएईजस्ता देशहरुमा ५२ वटा प्रोजेक्ट निर्माणको योजनामा रहेको बताएको छ ।