काठमाडौं । १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै खरिद गर्नुपर्ने कानुनी व्यवस्थालाई लत्याउँदै हिमालयन बैंकले आफ्ना कर्मचारीलाई आवश्यक पर्ने ड्रेसको कपडा भारतीय ब्रान्डको मात्रै किन्ने गरी सूचना प्रकाशित गरेको छ ।
नेपालमा दर्जनौं कपडा उद्योग सञ्चालनमा छन् । ती उद्योगले गुणस्तरीय कपडा उत्पादन गर्दै आएका छन् । तर, ती कम्पनीलाई बोलपत्र (टेन्डर) मै भाग लिन नसक्ने गरी सूचना प्रकाशित गरिएको छ । हिमालयन बैंकले आफ्ना कर्मचारीका लागि कोट, पेन्ट र सर्ट खरिदका लागि सूचना प्रकाशित गरेको हो ।
प्रकाशित सूचनाअनुसार हिमालयन बैंकले ६३७ सेट कपडा किन्न लागेको हो । उक्त सूचनामा भनिएको छ, ‘आर्थिक वर्ष ०७९/०८० का लागि एनी इन्डियन ब्रान्ड चाहिन्छ ।’ यसको अर्थ भारतमा उत्पादन भएका जुनसुकै ब्रान्डले हिमालयन बैंकको बोलपत्रमा सहभागी हुन पाउने छन् । त्यसबाहेक नेपाली ब्रान्डलाई टेन्डरमै सहभागी हुन सक्दैनन् ।
हिमालयन बैंक स्रोतका अनुसार नेपाली ब्रान्ड किन्दा आर्थिक चलखेल हुने सम्भावना अत्यन्तै न्यून हुने र भारतीय ब्रान्ड किन्दा बढी आर्थिक चलखेल गर्न पाइने भएकाले यस्तो गरिएको हो ।
सरकारले नेपाली उत्पादनलाई बढावा दिन भन्दै २०७१ मा ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका’ जारी गरेको थियो । बैंक सार्वजनिक निकायभित्र पर्छ । तर, हिमालयनले आफ्नो आर्थिक लेनदेन पूरा गर्न स्वदेशी कम्पनीलाई बर्जित गरेर भारतीय कम्पनीलाई मात्र भाग लिन सक्ने गरी सूचना निकालेको हो ।
निर्देशिकामा सार्वजनिक निकायले गर्ने खरिदमा बोलकबोल पद्धतिमा १५ प्रतिशत महँगो हुँदा पनि मान्य हुने स्पष्ट व्यवस्था छ । हिमालयन बैंकका एक उच्च अधिकारीका अनुसार भारतीयभन्दा स्वदेशी कपडा सस्तो मूल्यमा पाइन्छ । निर्देशिकाले महँगो किन्नुपर्ने व्यवस्था गरे पनि वास्तविकता त्यस्तो नभएको ती कर्मचारी बताउँछन् ।
एकातिर सरकार स्वदेशी उत्पादन र उपभोग दशक मनाइरहने र सार्वजनिक कम्पनीले स्वदेशी उत्पादनलाई पन्छ्याउँदै अघि बढेको देखिन्छ । हिमालयन बैंकमा सरकारको पनि लगानी छ । कर्मचारी सञ्चय कोषको लगानी हुनु भनेको सरकारकै लगानी भएसरह हो । त्यही कम्पनीले आफ्ना कर्मचारीलाई किन्न लागेको ड्रेसको कपडा भारतीय मात्रै किन्ने उल्लेख गरेको छ ।
सार्वजनिक निकायले आफूले प्रयोग गर्ने मालसामान वा वस्तु खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि गरिएको छ ।