काठमाडौं । आउँदो ३ वर्षभित्र सबै नेपालीको घरघरमा बिजुली पुग्ने भएको छ । स्थानीय तहलाई क्रमिक रुपमा शत्प्रतिशत विद्युतीकरणको भएको घोषणा गर्दै सरकारले आगामी २०७९ भित्र सबै नेपालीका घरघरमा बिजुली पुर्याउने नीति लिएको हो ।
विद्युत् पहुँच बढाउन अभियान नै चलाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बताए । उनले चालु आवमा राष्ट्रिय ग्रीड नपुगेका रुकुम पूर्व, कालीकोट, जुम्ला र बाजुरामा राष्ट्रिय ग्रीड पुर्याएर विद्युत् उपलब्ध गराउने योजना रहेको सुनाए ।
यस अवधिमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिने उनले जानकारी दिए । बिजुली उत्पादन बढाउनुका साथै वितरण प्रणालीलाई अझ विस्तार गरेर निर्धारित समयभित्र विद्युत् पहुँच बढाउने लक्ष्य लिएको उनको भनाइ छ ।
यसबीचमा विद्युत् प्राधिकरणले विद्युत् खपतको दायरा विस्तार गर्ने भएको छ । विद्युतीय यातायातका लागि थप ६० ओटा चार्जिङ्ग स्टेशनको स्थापना, विद्युतीय चुलो प्रयोगमा जोड, लिड चिमको प्रयोग र स्मार्ट मिटर जडान गरी वितरण प्रणालीलाई स्वचालित बनाइने भएको छ । यसैगरी देशैभरीका सवस्टेशनलाई स्वचालित बनाइने छ ।
हाल ७८ प्रतिशत जनताले बिजुली बाल्न पाएका छन् । गाहस्र्थ, सामुदायिक र औद्योगिक ग्राहकसमेत जोड्दा विद्युत् सेवा उपभोग गर्ने उपभोक्ताको सङ्ख्या ४५ लाख पुगेको छ । तीन वर्षभित्र बिजुली पुर्याउन नयाँ निर्माण र स्तरोन्नति गरी १ हजार ७१२ एमभीए क्षमताका प्रसारण सवस्टेशन थप गरिएको उनले जानकारी दिए ।
३ वर्षअघि बिजुली खपत वार्षिक १५० युनिट रहेकामा बढेर २५० युनिट पुगेको छ । १० वर्षमा वार्षिक बिजुली प्रतिव्यक्ति खपत १ हजार ५०० युनिट पुग्ने प्रक्षेपण गरिएको छ ।
निर्माणका अन्तिम चरणमा रहेका ठूला आयोजना सम्पन्न हुने बित्तिकै बिजुलीको पहुँच र प्रयोग बढ्ने प्राधिकरणको विश्वास रहेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ९०० मेगावाटको अरुण तेस्रोका साथै निजी क्षेत्रबाट ४२ मेगावाटको मिस्त्रीखोला, ८६ मेगावाटको सोलुदूधकोसी र ८२ मेगावाटको तल्लोसोलुलगायत साना र ठूला आयोजना सम्पन्न भइ विद्युत् पहँुच बढ्ने भएको हो । सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।
लोडसेडिङ्ग अन्त्यपछि नियमित रुपमा गुणस्तरीय विद्युत आपूर्ति प्राधिकरणको प्राथमिकतामा रहेको उनले बताए । सोहीअनुसार प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरणलाई अभियानको रुपमा अघि बढाउने घिसिङले बताए ।
ढल्केबरमा निर्माणाधीन ४०० केभी क्षमताको सवस्टेशनलाई सम्पन्न गर्ने, देशभरीका प्रसारण सवस्टेशनलाई स्वचालित बनाउने, सिँगटीदेखि लामोसाँघु, सोलुकरिडोर, दानादेखि कुस्मा, दोर्दी करिडोर, भरतपुरदेखि वर्दघाट, मस्र्याङ्गदीदेखि काठमाडौं, चिलिमेदेखि त्रिशुली, समुन्द्रटारदेखि त्रिशूली, त्रिशूली बी हव, कोशी करिडोर प्रसारणलाइनको काम यो वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको छ ।