काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई ठूला सरकारी कम्पनीहरूलाई सेयर बजारमा ल्याउने भएको छ । बोर्डले पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ ।
सार्वजनिक निष्कासनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी सरकारका ठूला युटिलिटहरूलाई बिस्तारै धितोपत्र बजारमा सूचीकरण गराई सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार र सन्तुलन मिलाउने आगामी लक्ष्य तथा प्राथमिकता बोर्डले सार्वजनिक गरेको हाे ।
बोर्डले विद्युत् प्राधिकरण र केयूकेएलजस्ता व्यावसायिक रूपमा सफल कम्पनीको मात्र आईपीओ निष्कासन गर्ने स्पष्ट पारेको छ । यता प्राधिकरणले आईपीओ निष्कासनको तयारी गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले विद्युत् प्राधिकरणको सेयर प्रिमियम मूल्यमा निष्कासन गर्ने योजना सार्वजनिक गरिसकेको छ ।
प्राधिकरणले २ वर्षदेखि आईपीओ निष्कासन गर्ने योजनाअनुसार इक्रा नेपालबाट रेटिङसमेत गरिसकेको छ । प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ ।
विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो । अहिले सबै वित्तीय सूचकांकमा उल्लेख्य सुधार आइसकेको छ । यस्तै क्रेडिट रेटिङबाट पनि प्राधिकरणमा लगानी सबै हिसाबाट सुरक्षित रहेको विश्लेषण गरिएको छ । ऐनमा भएको व्यवस्थाअनुसार सेयर निष्कासन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढ्ने जानकारी कार्यकारी निर्देशक कुलमान घिसिङले गराइसकेका छन् ।
ऐनमा प्राधिकरणको सेयर पुँजी सरकारले तोक्ने व्यवस्था छ । प्राधिकरणले निष्कासन गरेको सेयरमध्ये सरकारले खरिद गरी बाँकी रहेको सेयर मात्र सर्वसाधारण जनतालाई बिक्री गरिने व्यवस्था रहेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनर्संरचनाअन्तर्गत सेयर निष्कासनका लागि सहमति दिइसकेको छ ।
विद्युत प्राधिकरणले ‘डबल ए प्लस' क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।
डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । साथै संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । प्राधिकरणले अहिले विश्व बैंक, एसियाली विकास बैंकजस्ता बहुपक्षीय विकास साझेदार निकायहरुबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ ।
यता बोर्डले योजनामा राखे पनि केयूकेएलको आईपीओ निष्कासनको योजना अघि बढेको छैन । उसले क्रेडिट रेटिङका साथै अन्य प्रक्रियासमेत अघि बढाएको छैन । यद्यपि बोर्डले लक्ष्यमा राखेकाले केही वर्षभित्र उसको पनि आईपीओ निष्कासनको प्रक्रिया अघि बढ्ने भएको छ ।
केयूकेएलले मेलम्ची र सुन्दरीजलको पानी काठमाडौं उपत्यकामा वितरण गर्दै आएको छ । केयूकेएल काठमाडौं उपत्यकाभित्र पानी वितरण गर्ने सरकारको युटिलिटी हो । केयूकेएल नाफामा रहेको छ ।
सरकारले १ अर्ब रुपैयाँ वा सोभन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने व्यवस्था बजेटमा व्यवस्था गरेको छ ।