काठमाडौं । पछिल्ला दुई वर्षमा सेयर बजारबाट सरकारले उल्लेख्य राजश्व प्राप्त गरेको छ । जेठ १७ गतेसम्म सेयर बजारबाट सरकारले ११ अर्ब ३ करोड ३६ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
धितोपत्र बजारमा आएको सुधार बमोजिम कारोबार रकममा भएको बढोत्तरीले सरकारले पाउने राजश्व बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
यद्यपि पछिल्लो समय सेयर बजार ओरालो लागेपछि कारोबार रकममा समेत कमी आउँदा राजश्व संकलन प्रभावित हुन पुगेको छ । लगानीकर्ताहरुले ४ करोड र १२ करोडको लगानी सीमा हटाउन माग गर्दै आएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३२०० अंक माथि पुगेकोमा अहिले घटेर २०२० अंकमा आइपुगेको छ । यसबीचमा १२०० अंकले बजार घट्दा लगानीकर्ताले ठूलो रकम गुमाउनु परेको छ । यसबीचमा सरकारले पनि अर्बौ रुपैयाँ राजश्व गुमाएको छ । कारोबार रकम बढेर दैनिक २२ अर्ब रुपैयाँ पुगेकोमा अहिले भारी गिरावट आई १ अर्ब ३१ करोड रुपैयाँमा झरेको छ ।
बोर्डका अनुसार गत आर्थिक वर्षमा सेयर बजारमा सुधार आउँदा १५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । अघिल्लो वर्ष ९८ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन भएको बोर्डले जनाएको छ । यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ६४ करोड, ०७४/०७५ मा ४७ करोड रुपैयाँ राजश्व संकलन भएको बोर्डले जनाएको छ ।
नेपालमा कुल जनसंख्याको १८ प्रतिशत सेयर कारोबारमा संलग्न भएका छन् । यो संख्या भारत र बंगलादेशको भन्दा बढी हो । भारतमा ६.५५ प्रतिशत र बंगलादेशमा १ं२४ प्रतिशत मात्र जनसंख्या सेयर बजारमा संलग्न रहेको बोर्डले जनाएको छ ।
धितोपत्रको प्राथमिक निष्कासनमा आस्वा प्रणाली लागु गरिनु, न्यूनतम १० कित्ताको व्यवस्था गरिनु र दोस्रो बजार कारोबार पूर्णत अनलाइन प्रणालीबाट भएका कारण सेयर कारोबारमा जनसहभागिता बढेको हो । आस्वा सेवा र धितोपत्र व्यवसायीको शाखा विस्तारले पनि सेयर बजार बढाउन सघाउ पुर्याएको छ ।
कार्यान्वयनमा आउन लागेको धितोपत्र व्यवसायीको टीएमएसका कारण सेयर लगानीकर्ताको संख्या बढ्ने अनुमान बोर्डको छ । बोर्डले वस्तु विनियमय बजार सञ्चालनका लागि पर्याप्त पुँजी नभएका उद्यमी तथा नवप्रवर्तकहरुलाई प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलका माध्यमबाट पुँजी तथा व्यवसायिक ज्ञान परिचालन गर्नका लागि अनुमति दिएर दायरामा ल्याउने योजना बोर्डको रहेको छ ।
भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्ड परिचालन गर्न १७ कोष व्यवस्थापकले आवेदन दिएकोमा ७ वटाले सञ्चालन अनुमति पाइसकेका छन् ।
बोर्डका अनुसार हालसम्म एउटै सार्वजनिक निष्कासनमा २७ लाख भन्दा बढी आवेदन परेको छ । ५२ लाख बढी डिम्याट र ४३ लाख बढी मेरो सेयर खाता पुगेको छ ।