चितवन । भरतपुर महानगरपालिका–८ स्थित तीनतले चोकमा सुविधा सम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । दुई बिघा तीन कट्ठा जग्गामा प्रशिक्षण केन्द्र निर्माण गरिएको हो ।
महालक्ष्मी ट्रायल सेन्टर प्रालिले आज केन्द्र परिसरमा पत्रकार सम्मेलन गरी त्यहाँका सुविधाका बारेमा जानकारी गराएको हो । चितवनका पाँचसहित १५ युवा व्यवसायीले जग्गा भाडामा लिएर केन्द्र स्थापना गरेकोे प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिए । उनका अनुसार ८ करोड रुपैयाँ लगानीमा केन्द्र सञ्चालनमा ल्याइएको र यो देशकै सबैभन्दा ठूलो सवारी चालक प्रशिक्षक केन्द्र हो ।
मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, भारी सवारी साधन, ट्र्याक्टरका साथै हेभी इक्युपमेन्टहरु र दक्ष प्रशिक्षकद्वारा सिकाइने सो सेन्टरमा दैनिक एक हजारलाई प्रशिक्षण दिन सक्ने क्षमता रहेको छ ।
केन्द्रमा यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र लिन लिइने प्रयोगात्मक तथा लिखित परीक्षाका लागि दैनिक एक हजार ५००को परीक्षा लिन सक्ने क्षमता रहेको उनको भनाइ थियो । उक्त केन्द्रमा १५ कार, जिप, ५० मोटरसाइकल, २५ स्कुटर प्रशिक्षणका लागि व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिए।
टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय व्यवस्था रहेको सो केन्द्रमा अपाङ्ग मैत्री शौचालय, अपाङ्ग मैत्री भवन, पार्किङको उचित व्यवस्था छ । एक पटकमा ७०० सवारी साधन पार्किङ गर्न मिल्ने उनले बताउनुभयो । सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्डअनुसार केन्द्र निर्माण गरिएको हो ।
केन्द्रका सञ्चालक आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दैनिक तीन हजार जनाले ट्रायल परीक्षा दिन मिल्ने गरी प्रशिक्षण केन्द्र बनेको बताए । उहाँका अनुसार चार वटा ¥याम, एट सेप, एल ब्याक, युटर्न पाँच–पाँचवटा छन् । यस्तै हम्प तीनवटा, ट्राफिक लाइट चार सेटलगायत संरचना बनाइएको यञ्जिनियर नेपालले बताए ।
प्रशिक्षण केन्द्र असार पहिलो सातादेखि सञ्चालन आउने जनाइएको छ । चितवनमा ३० भन्दा बढी ड्राइभिङ केन्द्र छन् । पूर्वपश्चिम राजमार्गबाट करिब एक किलोमिटरभित्र प्रशिक्षण केन्द्र रहेको छ । रासस