विवाद नम्बर १
नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा १५ मिनेट जहाज ‘डिले’गरेको भन्दै पर्यटन मन्त्री योगेश भट्टराई विवादमा तानिएका छन् । उनले बुद्ध एयरबाट काठमाडौं फर्कने बेला आफू जसरी पनि काठमाडौं फर्कनु पर्ने भन्दै केही समय जहाज रोक्न अनुरोध गरेका थिए । उनको कारणले जहाज डिले भएको भन्दै यात्रुहरुले जहाजभित्रै होहल्ला गर्दै विरोध गरेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए । त्यसपछि उनको पक्ष र विपक्षमा सामाजिक सञ्जाल तातिएको छ ।
विवाद नम्बर २
साउन २३ गते बुटवल पुगेर उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्न १० लाख सर्वसाधारण उतार्ने बताए । विमानस्थलको काम अगाडि बढाउनुभन्दा शिलान्यासको मात्र रुची राखेको भन्दै उनको भनाइ विवादमा परेको थियो । मन्त्री भट्टराईलाई हल्लाभन्दा काम गर्न सुझाव समेत दिएका थिए ।
विवाद नम्बर ३
साउन २४ गते मन्त्री भट्टराईले भ्रमण वर्षको शुभारम्भ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट गराउने भनी दिएकाे अभिव्यक्ति विवादमा तानियो । पर्यटन व्यवसायीले भ्रमण वर्षको तयारीनै नपुगेको बताइरहेका बेला ट्रम्प र मोदीलाई प्रमुख अतिथि बनाउने कुरा हाँस्यासपद भएको भन्दै आलोचना गरेका थिए ।
विवाद नम्बर ४
साउन २४ गते नै पर्यटन मन्त्री भट्टराईले २० हजार पर्यटन व्यवसायीलाई टुँडिखेलमा जम्मा गरेर सार्वजनिक शपथ खुवाउने बताएपछि उक्त अभिव्यक्ति पनि विवादमै पर्यो । नेपालमा पर्यटक आउने वातावरण सिर्जना गर्नुको साटो पर्यटन व्यवसायीलाई जम्मा गरेर शपथ खुवाउने कुरा गर्नु गलत भएको भन्दै आलोचना भयो ।
विवाद नम्बर ५
भदौ ९ गते एकवर्षे कार्ययोजना प्रस्तुत गर्दै ७० वर्ष नाघेका वद्धवद्धाहरुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने बताएका थिए । उनको योजनामा वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति नै जारी गरेर कार्यान्वयन गर्न नसक्ने जवाफ दिएकाे थियाे । सङ्घकाे विज्ञप्ति छि त्यो विषय पनि विवादमा पर्यो ।
विवाद नम्बर ६
भदौ १३ गते पशुपतिमा आरती सुरु गर्नु अघि राष्ट्रिय गान बजाउन दिएको निर्देशन पनि विवादरहीत बन्न सकेन । उनको निर्देशनपछि सर्वसाधारणले चर्को विरोध गरेका थिए भने संसदमा यस विषयमा कुरा उठेको थियो ।
नेकपाका युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर आएपछि धेरैमा आशा पलाएको थियो । ‘युवा र केही गरौँ’ भन्ने स्वभावका व्यक्ति पर्यटनमन्त्री भएर आएकामा सबैजना उत्साही नै थिए ।
वास्तवमै भट्टराई केही गरौँ भन्ने स्वभावका नेता पनि हुन् । पहिलो पटक मन्त्री भएकाले उनलाई केही राम्रो काम गर्नै पर्ने दबाब पनि थियो । उनीअघि युवा नेता रवीन्द्र अधिकारीले उक्त मन्त्रालयले सम्हालेका थिए । उनले थोरै समयमा केही आशालाग्दा काम गरेका थिए । हेलिकाेप्टर दुर्घटनामा परी उनकाे निधन भएपछि भट्टराईले उक्त पद पाएका थिए । त्यसअर्थमा पनि केही गर्नैपर्ने दबाब उनमा थियो ।
भट्टराईले दीर्घकालमा हित हुने काम गर्छन् र देश विकासमा एउटा महत्वपूर्ण योगदान पुर्याउँछन् भन्ने सबैलाई विश्वास थियो । तर, भट्टराईले त्यसको ठिक विपरीत ‘सस्तो लोकप्रियता’ कमाउने खालका काममा जुटे र एक पछि अर्को विवादमा तानिन पुगे ।
उनले काम गरेर देखाउनुपर्ने थियो । पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने थियो । पर्यटन पूर्वाधार बनाउन आफ्नो समय व्यतित गर्नुपर्ने थियो । नीतिगत सुधार गर्नुपर्ने थियो । दिनप्रतिदिन भ्रष्ट हुँदै गएको नेपाल नागरिक उड्डयान प्राधिकरणलाई सुधार गर्नुपर्ने थियो ।
दिनानुदिन भ्रष्ट हुँदै गएका त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई सुधार्नुपर्ने थियो । खराब नेतृत्वका कारण निरन्तर डुब्दै गएको नेपाल एयरलाइन्सलाई बचाउने तर्फ लाग्नुपर्ने थियो ।
तर, उनले गर्नुपर्ने काम छाडेर पशुपतिमा आरती गर्नुपूर्व राष्ट्रिय गान बजाउन निर्देशन दिए, २० लाख पर्यटन व्यवसायीलाई शपथ खुवाउन तिर लागे, निजगढ विमानस्थलमा १० लाख सर्वसाधारण उतार्ने योजना बनाउन तिर लागे र भ्रमण वर्षको उद्घाटनमा अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीलाई ल्याउने भन्ने तिर लागे । यस्तै यस्तै सामान्य र मन्त्री भट्टराईले गर्नै नहुने कामतिर लागेपछि आशलाग्दा युवा नेतामाथि अहिले निरन्तर प्रहार भइरहेको छ ।
देशमा युवा नेताको खडेरी लागिरहेको छ । नेकपा वा नेपाली काङ्ग्रेसमा युवा नेता एकदमै कम छन्, भएकाले पनि अवसर पाएका छैनन् । एकातिर अवसर दिएनन् भनेर उमेर ढल्किएका नेतालाई गाली गर्ने र युवाले बल्लबल्ल अवसर पाउँदा पनि केही नगर्ने वा लोकप्रियता कमाउन लाग्नु भएन ।
अहिले मन्त्री भट्टराई विवादमा पर्नुको मुख्य कारण भनेको सस्तो लोकप्रियताका पछाडि लागेर नै हाे । मन्त्री भट्टराईले तत्काल यस्ता कार्य छाडेर दीर्घकालीन रुपमा देशलाई फाइदा हुने काम गर्न तिर लाग्नुपर्छ ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई अहिले पनि काठमाडौंका जनताले बारम्बार सम्झिरहेका छन्–कारण उनले काठमाडौंका भित्री सडकलाई चौडा गरिदिए ।
तत्कालीन रुपमा उनलाई पनि अत्यधिक असहयोग भएकै हो । तर, उनी आफ्नो निर्णयबाट पछि नहटेकै कारण आज देशलाई राम्रो भएको छ । सडकमा हिड्ने हरेकले एक पटक बाबुरामलाई सम्झिएका हुन्छन् । मन्त्री योगेशले पनि त्यस्तै काम गर्न सक्नुपर्छ । जाे देश र जनताले सधैँ सम्झिरहुन् ।