काठमाडौं । सबै सवारी साधनले असार मसान्तमै अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने भएको छ । यातायात व्यवस्था विभागले जेठ २० गतेको सूचना सच्याउँदै सबै सवारी साधनलाई असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने जनाएको हो ।
यसअघिको सूचनामा आमसर्वसाधारणदेखि संसदसम्मले विरोध जनाएपछि विभागले मंगलबार अर्को सूचना जारी गरेको हो । विभागका अनुसार पहिला पनि सबै सवारीलाई अनिवार्य नगरिए पनि बुझाइ फरक पर्दा विभागले आलोचना खेप्नु परेको हो ।
देशभरि गुड्ने सबै सवारी साधनमा असारमै अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गराउने उद्देश्य विभागको नभएको समेत सूचनामा उल्लेख छ । साथै अहिले ४० दिनभित्र दर्ता भएका सवारीमा इम्बोस्ड नम्बर जडान गर्न नसकिने विभागले जनाएको छ ।
सूचनामा उल्लेख भएअनुसार २०७८ कात्तिक २२ गते राजपत्रमा प्रकाशित तत्कालीन अवस्थामा नाम टुङ्गो लागि सकेका बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सावारी साधन, २०७८ फागुन १ गतेबाट नामसारी गरिएका र २०७९ जेठ १ गतेबाट नवीकरण गरिने सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न उल्ले गरिएको थियो ।
राजपत्रमा उल्लेख भएअनुसार सवारीमा प्लेट जडान भए÷नभएको विषयमा अनुगमन गर्नुपर्ने देखिएको विभागले जनाएको छ । सीमित समयमा लक्ष्य पूरा गर्नका लागि इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई गति तीव्रता दिन लागिएको विभागको विज्ञप्तिमा उल्लेख छ । तर, सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य नगरिएको विभागले प्रष्ट पारेको छ ।
हाल २ लाख ५० हजार इम्बोस्ड नम्बर प्लेट उत्पादन भएर स्टोरमा रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवश्यक सबै पूर्वाधारको तयार पनि भइसकेको विभागको दाबी छ ।