काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार २ हजार बिन्दु माथि नै रोकिएको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ ४५ दशमलव ५९ अंकले घटेर २ हजार २० बिन्दुमा आएर रोकिएको छ । यस दिन नेप्से कारोबार सुरुदेखि नै निरन्तर ओरालो लागेको बन्द भएको हो ।
अधिल्लो कारोबार दिन सोमबार पनि बजार करिब १३ अंकले घटेको थियो । सोमबार नेप्से १२ दशमलव ९२ अंकले घटेर २०६५.७८ बिन्दुमा रोकिएको थियो । साताको पहिलो कारोबार दिन ओरोलो लागेको बजारले दोस्रो दिन पनि निरन्तरता पाएको छ ।
सोमबार लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा १९ बुँदे ज्ञापनपत्र बुझाएका थिए । नेपाल राष्ट्र बैंकले अस्थिर नीति ल्याएको भन्दै लगानीकर्ताले ज्ञापन पत्र बुझाएका हुन् । लगानीकर्ताले बुझाएको १९ बुँदे ज्ञापनपत्रमा बोर्ड सकारात्मक देखिएको थियो । मंगलबार दिउँसो भने लगानीकर्ताले नेप्सेमा धर्ना दिने जनाएका थिए ।
लगानीकर्ताको हितको लागि बोर्ड सकारात्म देखिए पनि यस दिन बजार उच्च अंकले घटेको छ । सोमबार नेप्सेमा १ अर्ब २७ करोडको कारोबार भएको थियो भने मंगलबार कारोबार रकम बढेको छ । यस दिन नेप्सेमा १ अर्ब ३१ अर्ब रुपैयाँको कारोबार भएको छ ।
सेयर बजार तरलता अभाव, बिग्रँदो अर्थतन्त्र, बढ्दो ब्याजदरका कारण सजिलै बढ्न सक्ने सम्भावना कम छ । सेयर बजार आगामी नयाँ मौद्रिक नीति पर्खिरहेको देखिन्छ । मौद्रिक नीतिले आगामी बजारको बाटो तय गर्ने विश्लेषक बताउँछन् ।
यतिबेला अधिकांश कम्पनीहरुको सेयर अंकित मूल्यको दुई गुणासम्म पुगेको छ । कम्पनीहरुको सेयरमूल्य न्यून आइपुग्दा अब भने बजारले मौद्रिक नीतिसम्म बजार दुई हजारको वरीपरि रहने देखिन्छ ।
नेप्सेमा मंगलबार २३४ कम्पनीको ३८ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यस दिन हालै आईपीओ जारी गरेका दुई कम्पनीको सेयरमा सकारात्म सर्किट लागेको छ भने हिमालयन बैंकसहित केही लघुवित्त कम्पनीको सेयरमूल्य भने उच्च दरले घटेका छ । यस दिन वाणिज्य बैंकको उच्च सेयर कारोबार भएको छ ।