काठमाडौं । नेपालमा एसेम्बल प्लान्ट राखेर गाडी उत्पादन गर्ने योजनालाई निरन्तरता दिन लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडसँग वार्ता (नेगोसियसन) सुचारु गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको ५१ औं बैठकले कोरियाली कम्पनीसँग वार्ता जारी राख्ने निर्णय गरेको हो । यसअघि बोर्ड र कम्पनीबीच वार्ता भएको थियो । मोट्रेक्सले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कका साथै अन्य सुविधाहरू मागेको छ ।
२०७६ मंसिरमा मोट्रेक्सले प्लान्ट स्थापनाका लागि बोर्डसँग सम्झौतासमेत गरिसकेको छ । कोभिडका कारण केही समय सम्पर्कमा नरहेको कम्पनीसँग बोर्डले पुनः सञ्चार सुरु गरेको हो ।
कर छुट दिएमा आउन सहज हुने मोट्रेक्सले बताउँदै आएको छ । मोट्रेक्सका लागि उपयुक्त ठाउँ मोतीपुर थियो तर पहिलो रोजाई लुम्बिनी स्पिनिङ मिल भएको ठाउँ परेको छ । यद्यपि प्लान्ट राख्ने स्थानको अझै तय भएको छैन ।
तर, मोट्रेक्सलाई रुपन्देहीको मोतीपुरमा प्लान्ट राख्न सरकारले आफैं जग्गा दिने सम्झौता गरिसकेको छ । यो स्थानमा राख्ने वा अन्य स्थानमा सार्ने छलफलको क्रममा रहेको छ । त्यसका अलवा मोट्रेक्स दर्तालगायतका काम पनि अघि बढेको उद्योग विभागले जनाएको छ ।
मोट्रेक्सले यसअघि नै नेगोसिएसन शुल्क तिरिसकेको र आफ्ना माग पूरा भएमा नेपालमा प्लान्ट राख्न तयार रहेको जानकारी गराएको छ । हाल मोट्रेक्सको एसेम्बलिङ प्लान्टका लागि लगानी उद्योग विभागमा पनि काम अगाडि बढिरहेको छ ।
मोट्रेक्सले २०७६ सालमै नेपालमा गाडी उत्पादनको लागि आवेदन दिएको थियो । लगानी बोर्ड बैठकले उसलाई मोटर उत्पादनको प्लान्ट राख्न दिने र १० अर्ब रुपैयाँ लगानी स्वीकृति गरेको थियो । बोर्डका अनुसार सो कम्पनीले नेपालमा न्यूनतम १५ अर्ब रुपैयाँसम्म लगानी गर्ने बताइएको छ । कम्पनीले नेपालमा चारपाङग्रे गाडी उत्पादन गर्ने जनाइएको छ ।
उद्योग विभागका अनुसार यसअघि नै २२ उद्योग एसेम्बलिङ प्लान्ट राख्नका लागि दर्ता भइसकेका छन् । पछिल्लो समय बजेट प्रतिस्थापन विधेयकमा अर्थमन्त्री जनार्दन शर्माले एसेम्बल उद्योगलाई अन्तःशुल्कमा छुटको व्यवस्था गरेपछि उद्योगीहरू थप उत्साहित बनेका छन ।
यसअघि गोल्छा समूहको हुलास मोटर्सले ‘मुस्ताङ’ ब्रान्डमा नेपालमै गाडी एसेम्बलिङ गरेको थियो । तर, सरकारी नीति सहयोगी नभएको बताउँदै हाल सो उद्योग बन्द भइसकेको छ ।