काठमाडौं । नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपालको १५ संस्करण ‘नाडा अटो एक्स्पो–२०२२’ आगामी भदौ ७ देखि १२ गतेसम्म हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन उक्त प्रदर्शनीमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको सहभागिता रहनेछ ।
नाडाले उक्त प्रदर्शनीका लागि यही जेठ २६ गते देखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन खुला गरिने भएको छ ।
सीमित ठाउँ तर प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको नाडाले जनाएको छ ।
प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूहअनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
विगतका संस्करणहरुमा उल्लेख्य रुपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्सियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्सियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकिङ रजिस्ट्रेसन आव्हान गरिएको छ ।
कोभिड संक्रमण न्यून हुँदै जाँदा सुस्त रुपमा गति लिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताइरहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ ले केही हद सम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीहरूमाझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ ऊर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ ।